जेठ २ – स्पेनिस ला लिगाको उपाधि विजेताका बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज यो सिजन ला लिगाको सर्वाधिक गोलकर्ता बनेका छन् । लिगमा ४८ गोल गरेका स्वारेजले गोल्डेन बुट आफ्नो पक्षमा पारे । लिगको अन्तिम तथा उपाधिका लागि महत्वपूर्ण शनिबार रातिको खेलमा
ग्रनाडालाई ३–० ले हराउँने क्रममा सबै तीन गोल गरेका स्वारेजले सर्वाधिक गोलकर्ताको दौडमा रहेका रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पारे ।
शनिबार राति भएको खेलमा डिप्रोटिभो डी ला कोरुनालाई २–० ले हराउने क्रममा रियलका लागि दुवै गोल गरेका रोनाल्डोले यो सिजन लिगमा ३५ गोल गरे । स्वारेजले ला लिगामा गएको ६ सिजनदेखिको क्रम भंग गरेका छन् । सन् २००९–१० को सिजनदेखि अघिल्लो सिजनसम्म रोनाल्डो वा मेस्सी मात्रै ला लिगाका सर्वाधिक गोलकर्ता बनेका थिए । तर स्वारेजले मेस्सी र रोनाल्डोको क्रममा भंग गरे ।
सन् २००८–०९ को सिजनमा डिएगो फोर्लान सर्वाधिक गोलकर्ता बनेका थिए । २६ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सी तथा समान २४ गोल गरेका बार्सिलोनाका नेइमार र रियल मड्रिडका करिम बेन्जिमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष पाँचमा परेका छन् ।
स्वारेजले लिगका पछिल्ला पाँच खेलमा १४ गोल गर्दै गएको वर्षका सर्वाधिक गोलकर्ता रोनाल्डोलाई पछि पारे । स्वारेजले सर्वाधिक गोलकर्ताले पाउने पिचिची अवार्ड पाउने छन् । तर आफ्ना लागि पिचिचि भन्दा पनि टिमले लिगको उपाधि जित्नु ठूलो कुरा रहेको स्वारेजले बताए ।
– एजेन्सीको सहयोगमा


0 comments
प्रतिक्रिया दिनुहोस्...