जेठ २
काठमाडौँः अभिनेता राजेश हमालले नेपाली सेनामाथि प्रश्न गरेका छन् । भूकम्प पीडितको सहयोगार्थ च्यारिटी कार्यक्रममा सहभागी हुन नेपाल आएकी भारतीय हिरोइनलाई सेनाका जर्नेलले स्वागत गरेकोप्रति असन्तुष्टि जनाउँदै हमालले नेपाली सेनालाई प्रश्न गरेका हुन् ।
हमालले भारतीय हिरोइन सोनाक्षी सिन्हालाई स्वागत गर्न अन्तराष्ट्रिय विमानस्थलमा सेनाका जर्नेल समीर शाहलाई पठाएकोप्रति आइतबार असन्तुष्टि जनाएका हुन् ।
शनिबार सैनिक श्रीमती संघको आयोजनामा भएको च्यारिटीमा सहभागी हुन आएकी सोनाक्षीको स्वागतप्रति असन्तुष्ट हमालले सेनाप्रतिको आफ्नो गर्व भताभुङ भएको बताएका छन् ।
हमालले भनेका छन्, ‘देशको गर्वको रुपमा रहेको नेपाली सेना....जब मैले आजको समाचार पढेँ, यो देशको नागरिकको रुपमा मेरो गर्व भताभुङ्ग भएको छ ।’
सेनाका जर्नेलले विदेशी हिरोइनलाई स्वागत गर्दा देशको कलाकारको रुपमा आफूले अपमान महसुस गरेको भन्दै हमालले फेसबुकमा लेखेका छन्, ‘यो देशको कलाकारको रुपमा मैले अपमान भएको ठानेको छु ।’
कलाकारको स्वागतका लागि सेना नै जानुपर्ने बाध्यता भएको भए सादा पोसाकमा जानुपर्ने भन्दै हमाल भन्छन्, ‘यदि विदेशी कलाकारलाई स्वागत गर्न जानु थियो भने उनीहरुले सादा पोशाकमा त्यहाँ जानु पर्ने थियो ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...