-->
खानेपानीको पाइपमा ढल, संक्रमण फैलिने खतरा
Advertisement

बझाङ, वैशाख २४ – बझाङको सदरमुकाम चैनपुरका सडकभरि जताततै खानेपानीका पाइपहरु असरल्ल अवस्थामा रहेका छन । पाइममाथि गन्हाउने ढल बगिरहेका हुन्छन् । ठाउँ ठाउँमा पाइप फुटेर पानी बाहिर आएको देखिन्छ । खानेपानीका पाइपको यो दुरावस्था देख्नेले चैनपुर बजारको पानी ढुक्कसँग पिउन सक्ने अवस्था छैन ।
दुई वर्षअघि सडक निर्माण गर्दा अलपत्र परेका पाइपहरु व्यवस्थापन गर्न कसैले पनि चासो नदेखाउँदा यो अवस्था सिर्जना भएको हो । खानेपानीका पाइपहरु ठाउँ ठाउँमा फुटेको र त्यसैमा फोहोर ढल मिसिने गर्नाले गर्मीको समयमा पानीबाट संक्रमण फैलिन सक्ने खतराले सदरमुकामबासीलाई चिन्तित बनाएको छ ।
आँखै अगाडि फोहोर मिसिएको देख्दा देख्दै पनि त्यही पानी खानु पर्ने बाध्यता छ । चैनपुरका खगेन्द्र जोशीले भन्नुभयो ‘यसरी पाइपहरु खुल्लै छोड्दा एकातिर फोहोर पानी खानु पर्ने अवस्था छभने अर्काे तिर पाइप चोरी भएर हैरान भएका छौ ।’ उहाँका अनुसार डेढ वर्षको अवधीमा आफ्नो लाइनको पाइप चार पटक चोरी भैसकेको र पुनः नयाँ पाइप जडान गर्दा २० हजार भन्दाबढी खर्च भएको बताउनुभयो ।
बाटोमा जथाभावी पाइपहरु छोडिएका कारण हिँड्डुल गर्न समेत गाह्रो हुने गरेको छ । केटाकेटीहरु पाइपमा अल्झिएर लड्ने र घाइते हुने गरेको भए पनि पाइप व्यवस्थापनको लागि कसैले पहल नगरेको प्रति गुनासो गर्दै चौगाउँ टोलकाबासिन्दा करिस्मा बोहराले भन्नेभयो ‘दिन दिनै बच्चाहरु लड्छन । ठूलो मान्छेलाइ पनि हिड्न गाह्रो हुन्छ । सदरमुकाम भएर मात्र के गर्नु कसैले यो बिजोग देखेका छैनन’
पाइपहरु खुल्लै हुँदा बाटोमा हिलो हुने, गाडीले कुल्चेर पाइप फुटाई दिने, धारामा नियमित पानी नआउने जस्ता समस्याहरुले आफूहरु हैरान भएको पाँच वर्षदेखि सदरमुकाममा बस्दै आउनुभएका दौलीचौरका पे्रम बोहराले बताउनुभयो ।
सडक निर्मार्ण हुँदा खानेपानीको पाइप लगायतका संरचनामा ६ लाख बरावरको क्षति भएको भए पनि सडक निर्माण समितिले ५० हजार मात्र क्षतिपूर्ति दिएको छ । जसका कारण सडकले अलपत्र पारेको पाइप व्यवस्थापन गर्न नसकिएको चैनपुर खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनुभयो । महशुल उठाएको पैसाले नै आफूहरु अहिले खानेपानीका पाइप लाइनहरु व्यवस्थित गरे
गरेका र बजार भित्रका सबै खानेपानीका पाईप लाईनहरु असार महिनाभित्र व्यवस्थित गरी सक्ने बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘दुई महिनाभित्रै बजारमा कतै पनि खुल्ला पाइप नराख्ने गरी काम सुरु गर्ने सोच वनाएका छाै ।
’चार सय ५० धारामा पानी वितरण गरिरहेको चैनपुर खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिले धारा धनीबाटै पाइप व्यवस्थापन गर्ने बताए पनि सयौंको संख्यामा पाइपहरु खुला छोडिएकोले एउटाको पाइप गाड्दा अर्काे बाहिर निस्किने समस्या रहेको र वैज्ञानिक ढंगले उपभोक्ता स्वयंले यसको व्यवस्थापन गर्न नसक्ने उपभोक्ताहरु बताउँछन ।
सरोकारवालाले नै वेवास्ता गर्नाले पाईप लाईनको यस्तो हालत भएको उपभोक्ताहरुको आरोप छ । सरोकारवालाले पटक पटक केही महिनामानै खानेपानीका पाइप लाइनहरु व्यवस्थित गर्ने भने पनि आश्वासन मात्र दिने गरेको स्थानीयबासीको आरोप छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.