-->
नर्सको काम सुई लगाउने र सलाइन चढाउने मात्रै हो र !
Advertisement

वैशाख १२
-अर्चना बगाले, नर्स
‘नर्सको काम बिरामीलाई सुई लगाउने र सलाइन चढाउने त हो नि’ भन्ने सोचाइ राख्ने पढालेखाको जमात ठूलै छ ।

यो जमातभित्र पर्नेले नर्स अर्थात् नर्सिङ पेशाको महत्व बुझेका हुँदैनन् । अहिले नर्सिङको कार्यक्षेत्र फराकिलो भएको छ । अस्पताल बाहिरका विभिन्न काममा पनि नर्सको महत्व बढ्दो छ । अस्पतालभित्र पनि नर्सका काम यति मात्रै हुँदैनन् ।
सामान्यतया अस्पतालमा भर्ना भएर उपचारपछि निको हुने बिरामीले डाक्टरको उपचारले आफू तन्दुरुस्त भएको महशुस गर्छन् ।

डाक्टरको उपचारसँगै नर्सको हेरबिचार पनि उसको तन्दुरुस्तीका लागि महत्वपूर्ण थियो भन्ने धेरैले बिर्सिदिन्छन् । डाक्टरको औषधिको असरसँगै नर्सको राम्रो हेरबिचार पाएपछि बिरामी चाँडै निको भएर घर फर्किने हो । किनभने नर्सले बिरामीको अहोरात्र सेवा गरिरहेका हुन्छन् । बिरामी बसिरहेको बेड मिलाउनेदेखि मानसिक रुपमा रोगसँग लड्न तयार पार्ने कामसम्म नर्सले गरिरहेका हुन्छन् ।

नर्स सजिलै बन्ने कुरा होइन । एसएलसी पछि तीन बर्षको कठिन अध्ययन र तालिमपछि नर्स हुन पाइन्छ । पेशा अपनाउनका लागि नर्सिङ काउन्सिलको नाम दर्ता परीक्षा पास गर्नुपर्छ । त्यसैगरी बिएन वा विएस्सी नर्स बन्नका लागि आइएस्सी सकाएर चार वर्षको अध्ययन र तालिम हासिल गर्नुपर्छ र काउन्सिलमा दर्ता हुनुपर्छ । त्यसछि मात्रै काम गर्न पाइन्छ ।

यसकारण नर्सिङ पढ्ने भनेको सलाइन चढाउन र सुई लगाउन मात्रै होइन । किनभने अस्पतालबाहिर तर नर्सहरुको महत्व र आवश्यकता त्यति नै छ ।
नर्सका भूमिका
१) अस्पतालमा बिरामीका सेविका
२) अस्पतालका वार्ड ब्यबस्थापिका
३) शैक्षिक क्षेत्रमा (नर्सिङ अनि अन्य स्वास्थ्य शिक्षण संस्थामा प्राध्यापिका )
४) स्वास्थ्य परामर्शकर्ता ( बिमारीलाई रोग, उपचार बिधि देखि लिएर समुदायमा समेत स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने )
५) सर्वेक्षणकर्ता
६) स्वास्थ्य क्षेत्रको परिवर्तनका सम्वाहक
७) अनुसन्धानकर्ता
८) सहजकर्ता (सरकारी वा गैरसरकारी संस्थामा )
९) विद्यालयमा स्वास्थ्यकर्मी
यसबाहेक पनि अहिले संसारमा नर्सका कार्यहर विस्तार भएका छन् ।

नर्स प्य्राक्टिस्नर– नर्सिङको उच्च शिक्षापछि केही औषधि बिरामीलाई सिफारिस गर्ने अधिकार नर्सलाई हुन्छ । नर्सको भूमिका पनि फिजिसियनको जस्तै हुन्छ । उनीहरुसँग फिजिसियनसँग मिलेर क्लिनिक चलाउन सक्ने अधिकार हुन्छ । हाम्रो देशमा यो यो व्यवस्था भइसकेको छैन । बिस्तार होला । तर, विकसित देशमा यो व्यवस्था छ ।

नर्सिङ बिज्ञ– विविध क्षेत्रमा नर्सका विशेषज्ञतालाई लिएर नर्सिङ बिज्ञ हुन्छन् । क्लिनिकल, आर्मी, मिडवाइफ, सामुदायिक, चाइल्ड हेल्थ, मानसिक रोगका समेत बिज्ञताअनुसार नर्सहरु हुन्छन् ।

विविध कारणले नेपालमा नर्सिङ सेवाको अपेक्षित विस्तार हुन सकेको देखिदैन । अस्पताललाई पर्ने थप आर्थिक भारका कारण पनि न्युन जनशक्तिमा जोड दिइन्छ । विशेषज्ञता अनुसार काम र त्यो अनुसारकै पारिश्रमिक दिने व्यवस्था आत्मसाथ गर्न सकिएको छैन । एउटा नर्सले सामान्य वार्डमा ६ जनासम्म बिरामी हेर्न सक्छिन् तर बिडम्बना हाम्रा देशका अधिकांश अस्पतालमा एउटा नर्सले सामान्य वार्डमा २० वा त्यो भन्दा बढी बिरामी हेर्नुपरिरहेको अवस्था छ ।

बिरामीको स्याहारसुसारदेखि रेकर्डको कार्यलाई आफ्नो ड्युटीको समयभित्रै सकाउनुपर्र्ने हुन्छ । नर्सलाई प्राविधिक तालिम मात्रै होइन, सैद्धान्तिक ज्ञान समेत तीन वर्षमा पढाइन्छ ।

अन्य क्षेत्रका विद्यार्थी जस्तै उनीहरु पनि पढेर नर्स बनेको हुन् । सेवा क्षेत्रमा पनि लिखित र प्रयोगात्मक परीक्षा दिएर उत्तीर्ण भएर आएका जनशक्ति हुन् । त्यसैले हेपेर नभनौं– सुई लगाउने र सलाइन दिने काम त हो नर्सको ।
धेरै काम, थोरै तलब । धेर्र अपजस, थोरै जस । त्यसैमाथि न्युन बिदाले नेपालमा नर्सहरुको मनोबल गिर्दै गइरहेको छ ।

नर्सिङ जनशक्तिको कायक्षेत्र अस्पताल बाहिर विस्तार हुनु अहिले प्रमुख आवश्यकता हो । बढ्दो जनशक्ति र घट्दो रोजजारीका अवसर अहिले अर्काे समस्याका रुपमा देखिन थालेको छ ।

नर्सको अध्ययन र कार्यक्षमताको उचित मूल्यांकनको अभाव छ । उच्च तहको शैक्षित योग्यता हासिल गरेका नर्सले पनि समान हैसियतमा काम गर्नुपर्ने अवस्था छ । यसले गर्दा नर्सहरुको वृत्तिविकास हुन सकेको छैन । नीतिनियम बनाउने ठाउँमा समेत नर्सको सहभागीता सुनिश्चित हुन जरुरी देखिन्छ ।
- Swasthya Khabar Patrika


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.