२२ जेठ, नेपालगन्ज । ‘धेरै पढेका मान्छे गोठालो भएर बसेका छन् ।’ बाँके कोहलपुरका विष्णु पोख्रेल र शारदा पोख्रेलका विषयमा छरछिमेकले लखकाट्ने शब्द हुन् । समाज शास्त्रमा स्नाकोत्तरसम्म शिक्षा हासिल गरेका पोख्रेल दाम्पतीले आठ वर्षदेखि गाईपालन थालेपछि उनीहरुलाई यसो भन्न थालिएको हो ।
‘टिरलिङ् टिरलिङ’ गरि जोडले बज्ने घडीको आलराम घन्टीले विहान ४ वजे नै विस्तारा छोड्न बाध्य तुल्याउँछ । आफुसँगै जीवन साथी शारदा विहानै गाई बस्तुको सरसफाई, दाना पानी गर्नमा नै व्यस्त हुन्छन्, विष्णु ।
‘बुढाबुढीको काम नै गाईको दुध दुहुनु र दानापानी दिनु हो’-फिस्स हाँस्दै एकै सासमा उनले भने । उनीहरु गाई पालन गर्ने किसानको जोडीका रुपमा आफ्नो पहिचान समेत बनाउन सफल भएका छन् ।
पहिले भुमि अधिकार मञ्चमा ८ वर्षसम्म जागिरे रहेका विष्णुले त्यो जागिर अहिले छाडिसकेका छन । विष्णुकी जीवन संगिनी शारदाले भने अझै महिला उपकार मञ्च कोहलपुरमा लघु वृत म्यानेजर पदमा कार्यरत छिन । दुवैले सामाजशात्रमा स्नाकोत्तर गरेका छन ।
उनीहरुमा शुरुमा सरकारी जागिर खाने रहर जागेपनि गाई पालन शुरु गरेपछि त्यो रहर जाग्न छाडेको छ । २०६८ सालमा बर्दियाको पशुपति नगरबाट एउटा जर्सि गाई २२ हजारमा खरिद गरेर घरमा ल्याउदा शुरुमा गाई राख्ने गोठ नै थिएन अहिले गाईको संख्या ३५ पुगेको छ । बाच्छाबाच्छी गरेर ४० ।
घरमा गोवर ग्याँस भएकाले त्यसलाई प्रयोगमा ल्याउन गाई भित्राएका पोख्रेलले विस्तारै दुध पनि विक्रि गर्न थाले । उनले अर्को गाई पनि केहि महिना भित्रै खरिद गरे र पालन पोषण गर्न थाले । पोख्रेल दम्पतिलाई लाग्न थाल्यो कि दुई वटा गाई पाल्दा दिनुपर्ने समय र अरुलाई पनि दिने समय बराबर लाग्ने भएपछि उनिहरुले थप गाई खरिद गरेर ६ वटा बनाएर जिल्ला पशु सेवा कार्यलयमा प्रकृति नामबाट गाई फार्म दर्ता गरे ।
अहिले उनीहरुसगँ साना ठूला गरेर ४० वटा छन । माउ गाई ३० वटा, ५ वटा कोरली, ३ बाच्छी र २ बाच्छा रहेका छन । ४० वटा गाईको स्याहार गर्नको लागि एक जना सहयोगी बाहेक उनीहरु आफै खटेका हुन्छन् ।
कोहलपुर साझा चोक नजिकै रहेको पोख्रेल दम्पतिको गाई फार्ममा दुध दिन आउनेहरुको विहानै देखिनै भिडभाड हुने गर्छ । ‘प्रायः दुध घरबाटै विक्रि हुन्छ’- शारदाले भनिन्-‘बाकी रहेको दुध नजिकैको सिर्जना दुध डेरीमा विक्रिका लागि लैजान्छौ ।’
दैनिक १ सय ५० लिटर दुध विक्रि गर्ने उनीहरुले प्रतिलिटर ६० का दरले घरमा आएका ग्राहकलाई र डेरीमा ल्याक्टो र फ्याटका आधारमा ३८ देखि ४२ रुपैयासम्ममा विक्रि हुने गरेको बताउछन् । उनीहरुले घरमा पनि ध्यु विक्रि हुन्छ । मोहि पार्नका लागि आधुनिक मेसीन समेत ल्याएका छौ पोख्रेलले भने । ‘जिल्लामा रहेका अधिकांश र्फमहरु खुल्ने र बन्दहुने अवस्थामा छन् । तर हामी सानोबाट सुरुवात गरेर अहिले यो अवस्थामा पुगेका छौ । हामी खर्च सबै कटाएर अहिले फाईदामा छौ, आम्दानी बढेसंगै उत्साह पनि बढेको छ,’-उनले भने ।
आम्दानीको ५० प्रतिशत खर्च हुने भएपनि ५० प्रतिशत बचत हुने गरेको उनको भनाई छ । उनले व्यवसायिक गाई पालन गरेको आम्दानीले गाई थप गर्ने, छोरा छोरीलाई काठमाडौ पढाउने, गोठ सुधार गर्ने भएका ऋण तिर्ने गर्ने गरेका छन । १ सय वटा गाई पाल्ने लक्ष्य अनुरुप व्यवसायलाई अगाडि बढाउदै लगेको कृषक शारदाले बताइन् । पालेका गाईबाट राम्रो उत्पादन लिन पौष्टिक घाँस खुवाउने गरेका छन् ।
घाँसमा नेपियर, इपिल, किम्मु , वर्सिम, मकैचरी आदी लगाएका छन । गाईलाई घाँसले मात्र पुगाउन नसकिने हुदा भुस र पराल समेत खुवाउदै आएका छन कृषक पोख्रेल दम्पतिले । भुस र परालको लगानी गाईको गोवर मलले उठाउदै आएको छ ।
व्यवसायिक रुपमै गाई पालन गर्दै गर्दा दुध विकास बोर्डले १ लाख पशु उत्पादनका लागि उनीहरुलाई रकम सहयोग गरेको छ । त्यस्तै जिल्ला पशु सेवा कार्यलय बाँकेले पनि प्रावधिक सरसहयोग, घाँसको विउ लगाएतको सहयोग गरेको छ । पशु पालनले आफुहरुको जोस जाँगरलाई थप बढाउदै लगेको पोख्रेल दम्पतिको अनुभव छ ।
उनले आफ्ना सम्पुर्ण गाईहरुलाई १६ लाखको बीमा पनि गराएका छन । गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार समेत प्रकृति गाई फार्मले प्रात गरेको छ । अहिलेको साविक स्थानमा गाईको गोठ सानो भएकोले कोहलपुर कै चप्परगौरीमा अर्को गोठ बनाएर गाईको व्यवस्था मिलाएको उनले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...