करुणा कुँवर, मनोविद , म ३७ वर्षको भएँ । मेरा श्रीमान् ४१ वर्षको हुनुहुन्छ । हिजोआज मेरा श्रीमान्को यौनइच्छा घट्दै गएको छ । जब म इच्छा राख्छु, उहाँ मुड छैन, शरीर दुखेको छ, अल्छी लागेको छ भनेर टार्नुहुन्छ । कतै उहाँको अरूसँग यौनसम्बन्ध त छैन भन्ने शंका लाग्न थालेको छ ।
उहाँको विवाहअघि एक जना केटीसँग यौनसम्बन्ध भएको बताउनुभएको थियो । हाल उहाँ मलाई नै माया गर्छु भन्नुहुन्छ तर मलाई विश्वास लाग्दैन । यस कारणले हो वा मेरा साथीहरूले बाहिर अरूसँग यौनसम्बन्ध भए यौनइच्छा घट्ने बताएर हो, मलाई थप तनाव भएको छ । यसको केही समाधान छ ?
जी. अधिकांश महिला आफ्ना श्रीमान्बाट माया चाहन्छन् र माया नपाएकोमा दु:खी एवं निराश हुन्छन् । त्यस्तै अधिकांश पुरुष सेक्स चाहन्छन् र श्रीमतीबाट त्यो नपाएकोमा दिक्क र निराश हुन्छन् । यो हार्मोनका कारणले हुन्छ । पुरुषहरूमा यस्तो हार्मोन २० गुणा बढी उत्पादन हुन्छ, त्यसैले उनीहरूमा बढी यौनचाहना भएको हो, अर्थात् पुरुषमा एक दिनपछि हुने यौनचाहना महिलामा २१ दिनपछि हुन्छ, तर तपाईंले यस्तो प्रवृत्तिको ठीक विपरीत कुरा गर्नुभयो । यौनचाहनामा तलमाथि पर्ने विषयलाई चिकित्साशास्त्रको भाषामा यौनचाहनामा भिन्नताका रूपमा बुझिन्छ ।
धेरैजसो व्यक्ति महिलामा भन्दा पुरुषमा यौन इच्छा बढी हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि यौनचाहना हुनु स्वाभाविक हो । तपाईंको श्रीमानलाई यौनचाहना नहुनुका पछाडि थुप्रै कारण हुन सक्छन् । पुरुषहरू यति धेरै यौनचाहना राख्छन् भने तपाईंको श्रीमान्चाहिँ अपवाद नहुनुपर्ने हो । यसमा कि तपार्इंको श्रीमान्ले ढाँटिरहनुभएको छ, तपाईं ठीक हुनुहुन्छ । कि श्रीमान् ठीक हुनुहुन्छ, तपाईंमा समस्या छ भनेर केलाउनुपर्ने हुन्छ ।
यौनचाहना हुँदाहुँदै उहाँले तपाईंसँग सम्पर्क नगरेर अन्यत्रबाटै काम चलाइरहनुभएको हुनसक्छ अर्थात अन्य केटीहरूसँग संगत बढाइरहनुभएको हुनसक्छ । किन यसरी अन्यत्र संगत बढाइरहनुभएको हो भनेर तपाईंले त्यसको समाधान खोज्नुपर्ने हुन्छ । त्यस्तै उहाँमा मानसिक तनाव वा अन्य समस्याका कारणले पनि यस्तो भएको हुन सक्छ । केही रोग वा शारीरिक समस्या छन् भने त्यसको उपचार खोज्नुपर्ने हुन्छ, अन्यथा यस्तो समस्या हुँदैन ।
त्यस्तै तपाईंको श्रीमान्को यौनचाहना समयअनुसार कम हुँदै गएको हो वा पहिलेदेखि नै कम थियो भन्ने कुरा जान्नु आवश्यक हुन्छ । यदि समयअनुसार कम हँुदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पत्ता लगाउन आवश्यक हुन्छ । किनभने यो समस्याका धेरै स्रोत हुन सक्छन् । तपार्इंको प्रश्न सुन्दा तपाईंको श्रीमान् अहिले चिन्तामा रुमल्लिरहनुभएको छ भन्ने बुझिन्छ । तपाईं र तपाईंको श्रीमान्बीच अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने अनुमान लगाउन सकिन्छ । एक–अर्काप्रति सम्मान गर्ने बानी र स्वभावमा पनि समस्या थपिन थालेको हुनुपर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...