-->
कांग्रेसबाट दोस्रो पटक पनि संसद अवरुद्ध
Advertisement

१२ असार, काठमाडौं । भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै नेपाली कांग्रेसले आइतबार दोस्रो पटक पनि संसद बैठक अवरुद्ध पारेको छ । यसअघि बसेको बैठक कांग्रेसले अवरुद्ध पारेपछि एक घण्टा स्थगित भएर फेरि बसेको थियो । तर, दोस्रो पटक पनि कांग्रेसका सांसदहरुले बैठक चल्न दिएनन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न पाएनन् । यसअघि शुक्रबार पनि कांग्रेसले संसद बैठक अवरुद्ध पार्दा प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिने कार्यक्रम रोकिएको थियो ।
भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्निर्माणमा सरकारले ढिलासुस्ती गरेको एवम् पीडितको तथ्यांक संकलनमा राजनीतिकरण गरेको भन्दै कांग्रेसले सरकारको जवाफ मागेको छ । तर, उसकै अवरोधले प्रधानमन्त्रीले जवाफ दिन पाइरहेका छैनन् ।
सचेतक भन्छिन्- अवरोध गर्नु बाध्यता
आइतबारको पहिलो बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद अर्जुननरसिंह केसीले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिने प्रतिबद्धता सरकारबाट नआएसम्म बैठकमा अवरोध कायमै राख्ने बताए ।
सभामुख ओनसरी घर्तीले यसबारे प्रधानमन्त्रीले संसदमा जानकारी गराउन खोजेकाले अवरोध नगर्न आग्रह गरे पनि कांग्रेसले अवरोध कायमै राख्यो र एक घण्टाका लागि बैठक स्थगित गरियो ।
कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपानेले संसदमा अवरोध आफूहरुको रहर नभइ बाध्यता भएको दाबी गरिन् । उनले अनलाइनखबरसँग भनिन्, ‘हामी त अवरोध नगरौं भन्ने पक्षमा छौं तर, सरकारसँग जति छलफल गरे पनि प्रगति भइरहेको छैन । सरकार हाम्रा माग सम्बोधन गर्न गम्भीर देखिएको छैन ।’
२०७३ असार १२ गते ११:५८ मा प्रकाशित


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.