बैशाख २२
काठमाडौं– राप्रपा नेपालका अध्यक्ष तथा परराष्ट्रमन्त्री कमल थापाले सरकार फेरबदलको पछिल्लो घटनाक्रम अप्रत्यासित र अनुपयुक्त भएको टिप्पणी गरेका छन् । बुधबार मिडिया नेपाल मकवानपुरले हेटौडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘ सरकार फेरबदलको पछिल्लो घटनाक्रम अप्रत्यासित र अनुपयुक्त छ । विशिष्ट परिवेशमा राष्ट्रिय सार्वभौमिकता र स्वाभिमान रक्षा गर्ने सन्दर्भमा खडा भएको सरकार ढाल्ने खेल भएको छ । यसले देशमा संकट निम्त्याउँछ ।’
उनले विदेशीको प्रभावमा एमाओवादीले राष्ट्रिय सहमतिको सरकार आह्वानको नाममा ओली सरकार ढाल्ने प्रपन्च रचेको दाबी गर्दै त्यसले राष्ट्रिय सार्वभौमिकतामै आँच आउने बताए । उनले सार्वभौमिकता र स्वाभिमान रक्षा गर्ने सन्दर्भमा खडा भएको सरकार ढाल्न नहुने भन्दै आफ्नो पार्टीको निर्णयलाई पुर्नविचार गर्न समेत एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरे ।
पदको लोभमा राष्ट्रिय सार्वभौमिकतामा आँच आउने काम गर्न हुँदैन भन्ने राप्रपा नेपालको धारणा हो’, नयाँ बन्न लागेको भनिएको सत्ता समिकरणको विरोध गर्दै थापाले भने, ‘ आफ्नो पार्टीको निर्णयलाई पुर्नविचार गन म प्रचण्डजीसँग आग्रह गर्दछु ।’
उनले शान्ति र स्थायित्व , प्रजातन्त्रको सुद्धिडिकरण , आर्थिक विकासको एजेण्डा बढेको अवस्थामा शान्ति प्रक्रिया र संविधानको कार्यान्वयन नै अबरुद्ध हुने किसिमबाट सत्ता परिवर्तनको फोहोरी खेल भएको उनको दाबी थियो ।
थापा आजै काठमाडौं फर्कँदै
तीन दिन यता राजधानी बाहिर रहेका उपप्रधानमन्त्री समेत रहेका थापा आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । सरकार परिवर्तनको खेल चलेसँगै उनी गृहजिल्ला मकवानपुरको कार्यक्रम छोट्याएर आज काठमाडौं फर्किन लागेका हुन् । राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले थापा आज साँझसम्ममा राजधानी फर्किने रातोपाटीलाई बताए ।
केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्ने तयारी
यता सरकारबारे नयाँ समिकरण बन्ने देखिएसँगै राप्रपा नेपालको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्ने तयारी भएको छ । राप्रपा नेपालका एक नेताका अनुसार सम्भवतः आजै थापा फर्किएसँगै बैठक बस्नेछ । बैठकले नयाँ सरकारलाई राप्रपा नेपालको सहयोग रहने या बाहिरै बस्ने भन्ने बारेमा आधिकारिक धारणा तय गर्ने छ । यद्यपी एमाओवादीको नेतृत्वमा सरकार बन्ने अवस्था आए राप्रपा नेपाल बाहिरै बस्ने सम्भावना रहेको स्रोत बताउँछ ।- Ratopati


0 comments
प्रतिक्रिया दिनुहोस्...