दुर्घटना न्युनिकरण गर्न ट्राफिक सप्ताह सञ्चालन हुने
भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाले आगामि २६ गते देखि ट्राफिक सप्ताह सुरु गर्न लागेको छ ।जिल्लामा बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न तथा दुर्घटना न्युनिकरणका लागि अपनाउनु पर्ने सावधानीबारे सचेतना फैलाउने उद्धेश्यले ट्राफिक सप्ताह गर्न लागेको बताइएको छ । बैशाख २६ गते देखि सुरु हुने सप्ताह जेठ १ गते समापन हुने छ ।
ट्राफिक सप्ताह गर्ने बारे आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासले ट्राफिक सप्ताहलाई सफलता पुर्वक सम्पन्न गर्नका लागि सबैले आ आफ्नो ठांउबाट सहयोग गर्नु पर्ने बताए।
सप्ताहको भैरहवाको लुम्बिनी गेटमा सम्पुर्ण सरोकारवाला, संचारकर्मी, बिद्यार्थी, यातायात व्यवसायि, सुरक्षाकर्मी, रेडक्रसकर्मी, तथा सर्वसाधारणको सहभागिता भई बिहान ७ वजे र्याली निकाली सुरु गरिने आयोजकले जनाएको छ ।
र्याली नगरका बिभिन्न भाग परिक्रमा गरी जिल्ला प्रशाशन कार्यालय सम्म पुग्ने जनाईएको छ । ट्राफिक सप्ताह अनुसार बैशाख २७ भैरहवाको देवकोटा चोकमा प्राथमिक उपचार तालिम प्राप्त स्वयमसेवक तथा सिमुलेटरहरुवाट प्राथमिक उपचार तथा ओसार पसार सम्बन्धी कृतिम घटना अभ्यास गर्ने, २८ गते भैरहवा तथा बुटवलका बिभिन्न ५ स्कुलमा बिद्यालय सडक सुरक्षा कक्षा संचालन गर्ने, २९ गते धकधई, छपिया, देवदहमा रेडक्रस उपशाखाको सहयोगमा समुदायमा कक्षा संचालन गर्ने, ३० गते भैरहवा तथा बुटवलका बिद्यार्थी, चालक तथा सहचालकहरुको सहभागितामा सडक सुरक्षामा बिद्यार्थीको भुमिका बिषयक निवन्ध प्रतियोगिता सञ्चालन गर्ने, ३१ गते सैनामैना नगरपालिकाको मर्गियामा सडक सुरक्षा प्रबद्धन गर्न ट्राफिक स्टलको स्थापना गर्ने तथा जेठ १ गते स्थानिय सञ्चार माध्ययमबाट सडक सुरक्षा प्रबद्धनका लागि लेख रचना प्रकासन गर्ने तथा सोहि भव्य कार्यक्रमका वीच सप्ताहको समापन गर्ने कार्यक्रम रहेको ट्राफिक प्रहरी निरिक्षक अन्जन कोईरालाले जानकारी दिए ।
सो अबसरमा बोल्दै लुम्बिनी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक शेर बहादुर बस्नेत, प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ, नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय उपाध्यक्ष सुर्दशन प्रसाद नेपाल, रेडक्रसका मन्त्रि कृष्ण पंगेनी, रेडक्रस कार्यालय रुपन्देहीका अधिकृत शैलेन्द्र तुलाधर, पत्रकार दिपक घिमिरे लगाएतले बोल्दै ट्राफिक सप्ताहलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गरे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...