सरकार गिराएर राष्ट्रिय सहमति बन्न सक्दैन- नेपाल
लुम्बिनी टाइम्स | बुधबार, २२ बैशाख ।
बुटवल । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले काँग्रेस र मधेशकेन्द्रित दललाई पनि यही सरकारमा सहभागी हुन आह्वान गरेका छन । मुलुकमा राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि यही सरकारकै नेतृत्वमा राष्ट्रिय सहमति निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए । सरकार परिवर्तनको चर्चा चलिरहेको बेला एमाले नेता नेपालले सरकार गिराएर राष्ट्रिय सहमति बन्न नसक्ने बताए ।
रुपन्देहीको मणिग्राममा तिलोत्तमा व्यापार संघले बुधबार आयोजना गरेको कार्यक्रममा नेता नेपालले अहिलेको गठबन्धन तोड्न प्रयास भैरहेको उल्लेख गर्दै यसतर्फ सरकारमा सहभागी सबै दल सचेत बन्नुपर्नेमा जोड दिए । “विभिन्न बहानामा गठबन्धन तोड्ने प्रयास भैरहेको छ, गठबन्धन तोडेर मात्रै राष्ट्रिय सहमति बन्दैन, सही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिएर अगाडि बढ्न सकिन्छ”–उनले भने ।
लामो समयको प्रयासपछि मुलुकले संविधान पाउनु खुशीको कुरा भएपनि संविधानमा राखिएका कतिपय प्रावधान राजनिितक स्थिरता र मुलुकको प्रगतिको लागि बाधक भएको उनको विश्लेषण छ । “समानुपातिक निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउने अवस्था रहँदैन, जसले गर्दा मुलुकमा राजनीतिक अस्थिरताका साथै सरकार बनाउने र ढाल्ने खेल चलिरहन्छ”–नेपालले भने ।
नयाँ संविधान निर्माणको कमान्डर कोही बन्न नसक्दा मुलुक धेरै पछाडि धकेलिने अवस्था आएको उनले बताए । “धेरैजनाको बीचमा हुने कुनैपनि निर्णय राम्रा हुँदैन, त्यसका लागि कमाण्डर नै चाहिन्छ, तर संविधान निर्माणमा सभामुख, संवैधानिक समितिका सभापति वा राजनीतिक दलका नेता कोही कमाण्डर हुन सकेनन्, जसले गर्दा दलहरुको बुद्धि नपुग्दा लागु गर्नै कठिनाई हुने खालको संविधान बन्यो”–उनले भने ।
मुलुकमा संविधान ल्याउन नदिएर असफल राष्ट्र बनाउने खेलका बाबजुद पनि दलहरुले संविधान बनाएर मुलुकमा संविधानबिहनाताको अवस्था भने हुन नदिएकोमा भने सबैले राजनीतिक दल र सभासदलाईै धन्यवाद दिनुपर्ने नेपालको भनाई छ ।
सरकारले बैशाख २६ गते प्रस्तुत गर्ने नीति तथा कार्यक्रमले जनताका भावना समेट्नुपर्ने र त्यो कार्यान्वयनमुखी हुनुपर्ने उनले बताए । “उत्पादकत्व वृद्धि, रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइनुपर्छ, त्यस्ता कार्यक्रम लोकप्रिय र कार्यान्वयन गर्न सकिने हुनुपर्छ”–नेपालले भने ।
नेता नेपालले मुलुकलाई अब सामाजिक–सांस्कृतिक रुपान्तरणसँगै आर्थिक क्रान्तिको दिशामा लैजानुपर्ने बताउनुभयो । उहाँले तिलोत्तमा नगरलाई हरियाली शहरको रुपमा विकास गर्न र नमूना नगरपालिका बनाउन सुझाव दिए।
कार्यक्रममा बोल्दै एमाले उपमहासचिव घनश्याम भुसालले नागरिक अधिकारका हिसावले मुलुकको संविधान संसारकै उतकृष्ट भएको दावी गर्दै तर संविधानमा लेखिएका कुरा पूरा गर्न राज्य कमजोर भएको, व्यक्ति र समूह बलिया भएको बताए ।
संविधान लागु हुन नदिन आन्तरिक र बाह्य चलखेल सुरु भएको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता खेल अरु बढेर जाने र पार्टीहरुभित्र बिग्रहको अवस्था सिर्जना हुन सक्ने बताए ।
कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्रप्रसाद कंडेलले घरबहाल ऐन कार्यान्वयन नहुँदा व्यवसायीले समस्या झेल्नुपरेको उल्लेख गर्दै व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताए । उनले व्यवसायीलाई कर तिर्न प्रोत्साहन गर्नका लागि ६० वर्ष गरेपछि व्यवसायीलाई निश्चित प्रतिशत “रि–भ्याट” को व्यवस्था आगामी बजेटमा गर्न आग्रह गर्दै यसले राजश्व संकलनमा समेत टेवा पुग्ने बताए । कार्यक्रममा तिलोत्तमा व्यापार संघका महासचिव रामचन्द्र पाण्डेले व्यवसायीका विभिन्न समस्याबारे जानकारी गराएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...