इलाम। विकास निर्माण गर्दा होस् वा जुनसुकै कार्यका लागि सरकारी मुख ताक्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ ।
सधैँभरि विकास निर्माणमा सरकारी मुख ताक्नुपर्ने प्रथाको अन्त्य गर्दै जिल्लाको पश्चिमी जीतपुर गाविसका बासिन्दाले ऋण काढेर सडक निर्माण गरी उदाहरण प्रस्तुत गरेका छन् । गाउँमा बस चलाउन जीतपुरवासीले प्रत्येक घरबाट चन्दा उठाएर सडक निर्माण गरेका छन् ।
८४ लाखको लागतमा जीतपुर नवमीदेखि लिङ्दिन हुँदै फुलुङ्गी दोभानसम्मको करिब १३ किलोमिटर सडक स्थानीयले चन्दा सङ्कलन र ऋण काढेर निर्माण गरेका हुन् । सडक बनाउन आधा जति रकम चन्दाबाट सङ्कलन गरेका छन् भने आधा जति ऋण लिएको सडक निर्माण तथा उपभोक्ता समिति अध्यक्ष गङ्गाप्रसाद प्याकुरेलले बताउनुभयो ।
“सबैले आआफ्नो क्षमताअनुसार रु पाँच हजारदेखि एक लाख आठ हजारसम्म चन्दा दिए” अध्यक्ष प्याकुरेलले भन्नुभयो “चन्दाबाट मात्रै रु ३२ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।” सडक खन्न पैसा दिनेलाई किरात धर्मगुरु आत्मानन्द लिङ्देनले ताम्रपत्रसहित आशीर्वाद दिने भएपछि जिल्ला बाहिरबाट समेत बाटो निर्माणका लागि चन्दा सङ्कलन भएको छ ।
सडक बनाउन जीतपुरका श्याम खजुमले रु एक लाख आठ हजार चन्दा दिनुभएको छ । झापाका दीपक मगरले रु ९० हजार बराबरको इन्धन उपलब्ध गराउनुभएको छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोविन्द गिरी, समिति अध्यक्ष प्याकुरेलले रु ५०÷५० हजार बाटोमा चन्दा दिनु भएको छ । सामुदायिक वन उपभोक्ता समूह, किरात धर्मगुरू आत्मानन्द लिङ्देनले पनि सडकका लागि चन्दा दिनुभएको छ ।
इलाम पाँचथर, ताप्लेजुङ र धरानका मानिसले पनि चन्दा दिएका छन् । सडक निर्माणका लागि अपुग रकम स्थानीयसँग सापटी लिएको निर्माण समितिले जनाएको छ । सडक निर्माणका लागि सबैभन्दा बढी धर्मगुरुबाट रु ३१ लाख सापटी लिएको र अपुग रकम अन्यबाट लिइएको छ । पहिले सात फुट चौडाइको सडक थियो ।
त्यसलाई तीन गुणाभन्दा बढी बढाएर २४ फुटको बनाइएको छ । १३ किलोमिटर सडकमा तीन किलोमिटर नयाँ ट्रयाक बनाइएको छ । २०७० चैत २८ गतेदेखि निर्माण थालिएको बाटो २०७२ चैत २३ गतेसम्म निर्माण गरिएको थियो । चन्दा र ऋण काढेर डोजरको सहायताले सडक बनाइएको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...