इराकमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको क्षेत्रमा सामूहिक चिहानहरु फेला परेका छन् । ती क्षेत्रहरुमा ५० भन्दा धेरै सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसंघले जनाएको हो ।
आइएसको नियन्त्रणमा रहेका क्षेत्रमा सरकारी सेनाले फेरि आफ्नो नियन्त्रण कायम गरेपछि पछिल्लो केही महिनामा यस्ता चिहान फेला पारिएको राष्ट्रसंघका प्तिनिधिले जनाएका हुन् ।
राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा आइएसले गरेको जघन्य अपराधको प्रमाण रहेको राष्ट्रसंघकाका दूत ज्यान कुबिसले जानकारी दिएका हुन् । पछिल्लो पटकमात्रै अप्रिलमा रमादी शहरमा ४० जनाको सामूहिक चिहान फेला परेको थियो । राष्ट्रसंघका दूत कुबिसले यस विषयमा अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिएका छन् । आइएसका लडाकुको पारदर्शिता र उनीहरुले गरेका अपराधका बारेमा चनाखो हुनुपर्ने उनको भनाई छ ।
इराकी सेनाले गएको वर्षको डिसेम्बरमा रमादीबाट आइएसका लडाकुलाई लखेटेको थियो । आइएसका लडाकुले गएको वर्षको मेदेखि रमादीमा कब्जा जमाएका थिए । अहिले इराकमा सुधार हुँदै गएपनि मानवीय अवस्था अझै पनि खतरापूर्ण रहेको भन्दै मानवीय सहायताका लागि अन्तराष्ट्रिय समुदाय एकजुट हुनुपर्ने राष्ट्रसंघको धारणा छ ।
इराकमा मानवीय सहायताका लागि आवश्यक मध्ये एक चौथाइमात्रै उपलब्ध भएको बताइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...