-->
नियमावली निर्माणमा सहमति जुटाउन सभामुखको दाैड
Advertisement

नियमावली निर्माणमा सहमति जुटाउन सभामुखको दौड

नयाँ पत्रिका
काठमाडौं, १८ वैशाख
सभामुख ओनसरी घर्तीले संसद्को नियमावली निर्माणमा देखिएको गाँठो फुकाउन सहमतिको प्रयास थालेकी छिन् । यसबीच उनले प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेतालाई भेटेर सहमतिको वातावरण बनाइदिने आग्रह गरेकी छिन् ।
शुक्रबार उनी प्रमुख विपक्षी दल कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेकी थिइन् । ‘मैले नियमावलीमा देखिएका गाँठो फुकाउने विषयमा दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै र सामूहिक भेटघाट गरिरहेकी छु,’ उनले भनिन्, ‘भेटमा मैले सहमतिको लागि आवश्यक वातावरण निर्माण गरिदिन आग्रह गरेकी छु, आशा छ, सहमति जुट्छ ।’
संसदको नियमावली समितिले नियमावलीमा देखिएका विवादमा सहमतिका लागि प्रमुख राजनीतिक दलका नेताहरूलाई आग्रह गरिदिन सभामुखको ध्यानाकर्षण गराएको थियो । सोहीअनुसार सभामुख घर्तीले राजनीतिक भेटघाट तीव्र बनाएकी हुन् ।
उनले बिहीबार प्रधानमन्त्री केपी ओली तथा एमाओवादी अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेट गरेकी थिइन् । सात महिनादेखि संसद्को नियमावली बन्न नसक्दा संवैधानिक निकायका नियुक्तिको सुनुवाइ प्रक्रिया अवरुद्ध भइरहेको छ ।
सबै शीर्ष नेतासँगको भेटमा सभामुखले २१ वैशाखका लागि बोलाइएको व्यवस्थापिका–संसद्को बजेट अधिवेशनअगावै सहमतिको वातावरण बनाइदिन आग्रह गरेकी छिन् । नियमावली समितिको बैठक पनि २० वैशाखमा बस्दै छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.