-->
गुडिरहेको बसमा आगलागी
Advertisement

नेपालगन्ज–बाँकेमा शनिबार गुडिरहेको बसमा आगलागी भएको छ। नेपालगन्जबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ६९५ नम्बरको बसमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको खासकुश्मा–४ सौरी गाउँ नजिक बिहान ११ बजेतिर आगलागी भएको हो।
बसको छतमा सामान लोड गरिएको र सोही सामानबाट अचानक आगो सल्किएको इलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज(सई) सुरेन्द्र बुढाथोकीले जानकारी दिए। ‘बसको छतमा धेरै सामान लोड गरिएको रहेछ, कसैले सलाई वा लाइटर राखेकाले आगो सल्किएको हुन सक्छ,’ उनले भने। आगलागीबाट छतमा लोड गरिएका ९ वटा साइकल र अन्य सामान जलेको प्रहरीले जनाएको छ। ‘आगो चारैतिर सल्किन नपाउँदै नियन्त्रण गरिएका कारण ठूलो जनधनको क्षति हुन पाएन,’ सई बुढाथोकीले भने।
घटनाको अनुसन्धान भइरहेको उनले बताए। गुडिरहेको बसमा अचानक आगो लागेपछि यात्रु त्रसित भएका थिए। चालकले समयमै बस रोकेका कारण आफूहरु सकुसल बाँच्न सफल भएको यात्रु गणेश सुनारले बताए। ‘
बस आफ्नै रफ्तारमा गुडेको थियो, आगो लाग्यो भन्दै चिच्याउन थालेपछि चालकले बस रोकेर हेर्दा छतबाट धुवा उडिरहेको थियो, सबै यात्रु झरेर ज्यान जोगायौं,’ सुनारले भने। आगलागीको जानकारी समयमै थाहा पाउँदा मानविय क्षति हुन नपाएको उनले बताए। दाङ, श्रीगाउँ निवासी सुनार कोहलपुरबाट बस चढेर तुलसीपुर जाँदै थिए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.