-->
डन, नेता, व्यापारी र जमदार जुवा खालबाट पक्राउ
Advertisement

धरान–गुण्डागर्दीमा संलग्न युवा संघ सुनसरीका जिल्ला सदस्य आविष्कार लिम्बुसहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानले बिहीबार धरान ७ बुद्धमार्गस्थित एक घरमा छापा मारेर तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।


प्रहरी निरीक्षक प्रकाश श्रीमलको टोलीलाई जुवाडे पक्राउ गरेको हो। दिपक मोक्तानको उक्त घरमा व्यावस्थित र व्यावसायिकरुपमा जुवा तास खेलाउने गरेको प्रहरीको दाबी छ। पक्राउ पर्नेहरुमा एमाले समर्थित जिफन्टका जिल्ला सदस्य, सुन्तला व्यापारी र नेपाली सेनाका वहालवाला जमदारसमेत छन्।


स्थानीय डनको रुपमा परिचित लिम्बुसँगै पक्राउ पर्नेहरुमा धरान १० का शम्सेर वर्देवा, धरान १६ का ज्ञानेन्द्र बस्नेत, धरान ८ का राजकुमार राई छन्। वर्देवा जिफन्टका जिल्ला सचिव एवं एमाले धरान उपमहानगर कमिटिका मजदुर शाखा उपाध्यक्ष हुन्। राई नेपाली सेनाको रिपु मर्दन गण सर्लाहीमा कार्यरत जमदार हुन्। बस्नेत भने सुन्तला व्यापारी हुन्।


अन्य पक्राउ पर्नेहरुमा धरान २३ का शिव कटुवाल, धरान १५ का टेकबहादुर लिम्बु, धरान १५ कै विनयकुमार बस्नेत, धरान १५ का कुमार बहादुर मोक्तान, धरान १५ का शुकबहादुर पन्धाक, खोटाङ सभापोखरी २ का रुपसङ्ग लिम्बु, ताप्लेजुङ्ग याकुम्बा ७ का करणबहादुर लिम्बु र खोटाङ्ग सुंदेल ८ का किरणकुमार राई छन्।


जुवाडेहरुको साथबाट १ लाख ३६ हजार १ सय ३७ रुपैया र भारु २ हजार ४ सय ९० गरी कुल एक लाख ४० हजार १ सय २१ रुपैयासमेत वरामद भएको प्रहरीले जनाएको छ। शुक्रबार जुवाडेहरुलाई

सार्वजनिक गर्दै डिएसपी घनेन्द्र खतिवडाले तासको खालबाट ६ बुक तास र साइडमा राखिएको अन्य ४ बुकसमेत बरामद भएको जानकारी दिए। तास खेल्न प्रयोग भएको ३ थान टेवल, १६ थान कुर्सी र २ थान मुढासमेत प्रहरीले वरामद गरेको उनले बताए। पक्राउ परेकाहरु म्यारिज खेलिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।



डिएसपी खतिवडाका अनुसार जुवा तास खेलाउने घरमालिक मोक्तान फरार छन्। उनी केही महिना अघि पेट्रोल कालोबजारीमा समेत संलग्न थिए। कालोबजारीबारे समाचार संकलनको क्रममा पत्रकार दिनेश गजमेरलाई आक्रमण गर्न खोजेपछि पक्राउसमेत परेका थिए। फरार भएका मोक्तानको खोजी तीब्र रुपमा भइरहेको डिएसपी खतिवडाले जानकारी दिए।


'त्यो घरमा व्यावसायिकरुपमा नै जुवातास खेलाउने गरेको रहेछ, विशेष सुराकीको आधारमा छापा मार्दा घरवाला फरार भयो, उनकी श्रीमतीलाई पनि सोधपुछ गरेका छौं र खोजी तीब्र गरिरहेका छौं', डिएसपी खतिवडाले भने। पक्राउ परेका डन आविष्कारविरुद्ध प्रहरीमा विगतमा पनि थुप्रै मुद्दा चलिरहेकोले त्यसबारेमा पनि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।


पक्राउ परेकाहरुलाई म्याद थप गरी जुवा ऐन २०२० अनुसार मुद्दा दर्ता गरि कार्वाही प्रक्रिया अघि बढाउने डिएसपी खतिवडाले जनाए । सो ऐनले कुनै व्यक्तिले सम्पत्ति हार्ने वा जित्ने गरी जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न प्रतिबन्ध लगाएको छ।

जुवा खेलेमा पहिलो पटक २ सय सम्म जरिवाना, दोस्रो पटकलाई एक महिनादेखि ३ महिनासम्म कैद र तेस्रो पटकदेखिकोलाई १ बर्ष कैद हुने ऐनमा व्यावस्था छ यस्तै, आप्mनो घर जुवा खेल्न वा खेलाउन प्रयोग गर्न दिनेलाई पनि पहिलो पटक ३ सय जरिवाना र दोस्रो पटकदेखिकोलाई ३ महिनादेखि ९ महिनासम्म कैदको व्यवस्था गरिएको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.