२०७३ बैशाख १७ शुक्रबार
सिन्धुलीः सिन्धुली सितलपाटीका किशोर–किशोरी निर्धक्क यौनका कुरा गर्न लजाउँदैनन् ।
सितलपाटी स्वास्थ्य चौकीमा किशोर–किशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन् ।
स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को सहकार्यमा सितलपाटी स्वास्थ्य चौकीमा विद्यालयको दिउँसोको खाजा समयमा एक घन्टे प्रजनन स्वास्थ्य सेवा थालेपछि यहाँका किशोर–किशोरीमा परिवर्तन देखिएको हो ।
आइतबारदेखि बिहीबारसम्म दिउँसो १ः०० देखि २ः०० बजेसम्म किशोर–किशोरीलाई छुट्टै कक्षमा राखी यौन तथा प्रजनन शिक्षा दिइन्छ ।
शुक्रबार विशेष कार्यक्रम गरिने जिल्लामा युएनएफपिएको कार्यक्रम संयोजन गरिरहेका सञ्जय शर्मा बताउछन् ।
स्वास्थ्य महाशाखाले युएनएफपिएसँगको सहकार्यमा सिन्धुली, प्यूठान, अछाम, बझाङ र सुनसरीमा केन्द्र नै खोलेर यो कार्यक्रम सुरु गरेको छ ।
‘विविध कारणले यौन र प्रजननका समस्या अभिव्यक्त गर्न नसकेकालाई प्रोत्साहित गर्न छुट्टै कोठा, ट्वाइलेट र विद्यालय नजिकको स्वास्थ्य चौकीलाई छानेर केन्द्र स्थापना गरी कार्यक्रम चलाइएको हो,’ उनले भने ।
युएनएफपिएले विसं २०६८ (सन् २०१२) मा जिल्लाका छ गाविसमा किशोर–किशोरीमैत्री कार्यक्रम थाल्यो । कार्यक्रम विस्तार गर्ने क्रममा युएनएफपिएको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले १८ गाविसका स्वास्थ्य संस्थामा कार्यक्रम लागू गरेको छ । केही गाविसमा थपिने क्रममा छ ।
जिल्लाका सितलपाटी, बासेश्वर, भुवनेश्वरी, प्वाङ्स्वाङ, बेलघारी, सिरथौली, कपिलाकोटलगायत गाविसमा सो कार्यक्रमले किशोर–किशोरीमा सकारात्मक परिवर्तन ल्याएको छ । कार्यक्रमको सुरुमा चुनौती नआएका भने होइनन् ।
रानीटारकी विनिनता कोइराला सुरुवाती दिनमा किशोर–किशोरीमैत्री कार्यक्रममा सहभागी हुँदा आमाले छोरी बिग्रिई भनी गुनासो गरेको सम्झिन्छिन् । विषय अश्लीलजस्तो लागे पनि कार्यक्रमले विनितामा सकारात्मक प्रभाव परेपछि आमा खुसी छिन् ।
‘सुरुमा मलाई गाली गर्ने आमा कार्यक्रमको सकारात्मक प्रभावबाट प्रभावित भएर कार्यक्रममा सहभागी हुन थाल्नुभएको छ’, विनिताले भनिन्, ‘कार्यक्रममा सहभागी युवा विकृतिमा लाग्लान् भनेर डराएका अभिभावकलाई नै कार्यक्रममा सहभागी किशोर– किशोरीले कुलतबाट छुटाएका उदाहरण हाम्रो गाउँमा छ ।’
कार्यक्रममा सहभागी युवाको पहलमा जिल्लामा बाल विवाह रोकिएको छ । विद्यालय छोडेर कुलत उन्मुख भएका बालबालिका पनि फेरि विद्यालय फर्र्किन थालेका छन् ।
किशोर वयश्कमा हुने शारीरिक परिवर्तन र यौनका कुरा लुकाएर होइन, जानकारी गराएर गलत बाटोबाट सही मार्गमा हिँडाउन सकिन्छ भन्ने प्रमाणित भएको युवा सञ्जाल सिन्धुलीका अभियन्ता जनक विक बताउछन् ।
जनचेतना जगाउने अभियानमा संलग्न युवालाई सङ्गठित गरेर जिल्लाका ४१ गाविसमा युवा सञ्जाल बनाइएको छ ।
सञ्जालले किशोर–किशोरीमा उमेर परिवर्तनका समयका समस्या समाधान गर्नेदेखि भूकम्प, आगलागीजस्ता प्राकृतिक प्रकोपका समयमा पीडितलाई राहत वितरणमा समेत सहयोग गर्छ ।
स्वास्थ्य चौकीमा किशोरभन्दा धेरै किशोरी कार्यक्रममा सहभागी भएको अभिलेख छ । देशभर लागू युवामैत्री स्वास्थ्य संस्थामध्येमा सितलपाटीले सबैभन्दा बढी अङ्क पाएर उत्कृष्ट बनेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
स्वास्थ्य चौकी सितलपाटीकी अहेब सङ्गीता सिन्हा (मण्डल) किशोर–किशोरी एचआइभी एड्स र तल्लो पाठेघर दुख्ने समस्या लिएर आउने गरेको सुनाउछिन् ।
सुरुमा किशोर–किशोरी कक्षमा समस्या राख्न लजाउने युवा अहिले निर्धक्क आफ्ना समस्या राख्न थालेका छन् ।
यसले उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ । उनले भनिन्, ‘पहिले पहिलोपटक महिनावारी हुँदा किशोरीमा त्रास अनुभव हुन्थ्यो, अहिले त्यो उमेरका किशोरीमा युवामैत्री कक्षको शिक्षाको प्रभावले त्रासको समस्या हटेको छ ।’
दीर्घप्रदीप उच्च माध्यमिक विद्यालय सितलपाटी–९ खाल्टेमा कक्षा १० मा अध्ययनरत १४ वर्षीय किशोरी यमुना श्रेष्ठ कक्षा ६ देखिकै किशोर–किशोरी निर्धक्क आफ्ना समस्या लिएर स्वास्थ्य चौकीको युवामैत्री कक्षमा जाने गरेको बताउछिन् ।
‘अधिकांश किशोरीको समस्या महिनावारी, तल्लो पेट दुख्ने, टाउको दुख्ने, रिङ्गटा लाग्नेलगायत हुन्छ, युवामैत्री स्वास्थ्य संस्थाको कक्षमा गई परामर्श लिएपछि किशोरीमा खुसीसाथ जीवनयापन गर्ने शक्ति मिलेको अनुभव गरेकी छु’, उनले भनिन् ।
किशोर–किशोरीमैत्री कार्यक्रममा सहभागी भएका युवा–युवतीले किशोरावस्था पार गरेपछि मैत्री केन्द्रमा गएर पछिल्लो पुस्ताकालाई तालिम दिने क्रमसमेत सिन्धुलीबाट सुरु भएको छ ।
बासेश्वर गाविसका मनिष कोइराला र त्रिशूल कोइराला अहिले आफूभन्दा पछिल्लो पुस्ताका किशोर–किशोरीलाई आफ्ना अनुभव सुनाइरहेका छन्।
‘स्वास्थ्यकर्मीसँगभन्दा उमेर समूह मिल्नेसँग किशोर–किशोरी बढी खुल्ने भएकाले हामीले एकापसमा धेरै कुरा छलफल गर्न पाएका छौँ, हाम्रो अनुभवका आधारमा भाइबहिनीलाई सही मार्ग डो¥याउन पाएकामा गौरव लागेको छ’, मनिष कोइरालाले भने ।
देशभर ७२ जिल्लाका एक हजार १३४ स्वास्थ्य संस्थामा भने किशोर–किशोरी मैत्री सेवा सुरु भएको युएनएफपीएका पैरवी एवम् सञ्चार अधिकृत सन्तोष क्षेत्रीले जानकारी दिए । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...