
Advertisement
|
जेठ २५, गोरखाका कालु गुरुङले २०६८ भदौको पहिलो साता काम गरेर फर्केलगत्तै अचानक होस गुमाए । त्यसयताको चार वर्षभन्दा लामो समयदेखि उनी हमाद अस्पतालको सघन उपचार कक्षमा छन् । कालुलाई कतार पठाउने एजेन्ट इमानसिंह गुरुङका अनुसार उनको घरमा श्रीमतीबाहेक केही छैनन् । त्यसैले अस्पतालले फर्काउन खोजे पनि परिवारले नेपाल झिकाएर उनलाई उचित रेखदेख गर्न सक्ने अवस्था छैन ।
हमाद अस्पतालको कोमामा रहेका नेपालीहरूका अधिकांश परिवार विपन्न र कमजोर आर्थिक हैसियतका छन् । अस्पतालमा बस्दै आएका गोरखाका हुमबहादुर गुरुङ भन्छन्, ‘लैजान पो कोही तयार छैन । लगे पनि कसले स्याहारोस् ।’ कालुजस्तै अधिकांशका परिवारहरू कोमामा रहेका परिवारका सदस्यलाई नेपाल झिकाउन इच्छुक देखिन्नन् । अधिकांशको भनाइ छ, ‘घरनजिक अस्पताल छैन, सहरका अस्पतालमा महँगो शुल्क तिरेर राख्ने क्षमता छैन ।’ दण्डकाली ८ सुर्खेतका ३८ वर्षीय हरिबहादुर बस्नेत पनि चार वर्षभन्दा लामो समयदेखि कोमामा छन् । उनी कोमामै रहेका बेला उनको परिवार बसाइँ सरेर बर्दिया रम्भापुर पुगेको छ । उनकी श्रीमती हिमकुमारीले भनिन्, ‘घरमा कमाउने कोही छैन । जायजेथा बेचेर उपचार गर्ने अवस्था पनि छैन । यस्तो अवस्थामा म कसरी श्रीमान्लाई नेपाल झिकाउँm ?’ बस्नेतलाई काममा लगाउने कम्पनीका एक प्रतिनिधि परिवार उनलाई नेपाल झिकाउन तयार भए केही रकम आर्थिक सहायतास्वरूप दिन तयार छन् । हमाद अस्पताल पनि नि:शुल्क नेपाल पठाउने र एक महिनाको उपचार खर्च बेहोर्न तयार छ । तर, पनि हिमकुमारी पतिलाई नेपाल झिकाउन इच्छुक छैनन् । भन्छिन्, ‘ल्याएर के गर्नु ? कहाँ राख्नु ?’ सरकारले नेपालमा उपचार गरिदिने ग्यारेन्टी दिएमा मात्रै उनी बिरामी बुझ्न सहमत हुने पक्षमा छिन् ।
९ वर्षदेखि कतारमा इलेक्ट्रिसियन काम गरिरहेका कटैया १३ बाराका बुनिलालप्रसाद कुर्मी २०७१ असोज ३ देखि कोमामा छन् । मेडिकल भाषामा उनको डिस्चार्ज भइसकेको छ तर लैजान कोही तयार छैनन् । बुनिलालकी २८ वर्षीया पत्नी शोभादेवी आफ्ना ४, ६ र ७ वर्षीय छोराहरू लिएर दाइ पल्टनप्रसाद कुर्मीको शरणमा छिन् । ‘काठमाडौं र वीरगन्जमा बिरामी राखिदिने अस्पताल खोजिरहेका छौं,’ पल्टनप्रसादले भने, ‘तर, पाउन सकिरहेका छैनौं ।’ बिरामी राख्न अस्पतालले सहमति जनाएको पत्रसहित परिवारको सहमतिपत्र नपठाएसम्म हमाद अस्पतालबाट बिरामी ल्याउन सकिँदैन ।
हरिचौर १ बागलुङका गिरीप्रसाद विक पाँच वर्षभन्दा लामो समयदेखि कोमामा छन् । सडक दुर्घटनामा घाइते भएका गिरीको मुद्दा अदालतबाट छिनोफानो भइसक्यो । दुर्घटना गराउनेले क्षतिपूर्तिको रकमबापत १ सय ६० हजार कतार रियाल कतारस्थित नेपाली दूतावासको खातामा जम्मा गरिसकेका छन् । गिरीलाई नेपाल पठाएपछि मात्रै दूतावासले उक्त रकम पीडित परिवारलाई दिनेछ । बागलुङ सदरमुकामबाट करिब चार घण्टाको मोटरबाटो र दुई घण्टाको पैदल यात्रापछि मात्रै गिरीको घर पुगिन्छ । कृष्णाकुमारी भन्छिन्, ‘मैले कहाँ राख्ने ? कसरी उपचार गर्ने ? क्षतिपूर्ति आएको खबर छ । त्यो पाएमा उहाँको उपचार गर्न राहत पुग्थ्यो ।’ क्षतिपूर्तिको बारेमा परिवारका सदस्यलाई बुझाउन नसक्दा रकम पाउनेहरूले पनि कोमामा रहेका आफन्तहरूलाई नेपाल झिकाउन सहमति दिन सकिरहेका छैनन् । धेरैजसोले भने कमजोर आर्थिक अवस्था र घरमा जान्ने बुझ्ने कोही नभएका कारण परिवारका सदस्यलाई नेपाल झिकाउने विषयमा निर्णय लिन सकिरहेका छैनन् । चार वर्षभन्दा लामो समयदेखि कोमामा रहेका झापा श्रीपुरका श्रीबहादुर नेम्वाङकी बहिनी भावना भन्छिन्, ‘दाइ विदेश भएकै बेला बाआमा बिते । अब दाइलाई ल्याएर कहाँ राख्ने ? कसले सम्हाल्ने ?’
हमाद अस्पतालकै कोमामा रहेका शंख २ रुकुमका मनोज केसीको अवस्था थोरै फरक छ । सडक दुर्घटनामा परी कोमामा पुगेका मनोजले कम्पनीबाट दुई लाख कतारी रियाल पाएका छन् । तर उक्त रकम मनोज नेपाल फर्केपछि मात्रै उपलब्ध गराउने भन्दै दूतावासले राखेको छ । काठमाडौंमा रहेका मनोजका कान्छा बुबा ताराचन्द्र केसी मनोजलाई नेपाल फर्काउने पहलमा लागेका छन् ।
महिनौंको दौडधुपपछि ताराले बिरामीलाई नेपाल ल्याएपछि पाटन अस्पतालले राख्न सकिने बेहोराको कागज तयार पारे । ताराले सुनाए, ‘वैदेशिक रोजगारीसँग सम्बन्धित भएजति सबै सरकारी कार्यालय धाएँ तर कतैबाट सहयोग पाइनँ ।’ हमाद अस्पतालले नेपालको अस्पतालले राख्ने ग्यारेन्टी सहितको पत्र नभई बिरामी पठाउँदैन । केसीले आवश्यक सबै कागजात तयार पारेर कतारस्थित नेपाली दूतावासमा बुझाइसकेको महिना दिन नाघिसक्यो । उनले भने, ‘खै छिटै पठाउँछु भन्छन् तर कहिले पठाउने हो केही थाहा छैन ।’लाइटनेपालबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...