अनिल गुरुङ
कप्तान, नेपाली फूटबल टिम
नेपाली फूटबल टिमको क्याप्टेनका दृष्टिले यूरोकपलाई कसरी लिनुभएको छ ?
४/४ वर्षमा हुने यो खेल हाम्रा लागि ठूलो महोत्सव नै हो । योपटक नयाँनयाँ टेक्निकका साथै धेरै नयाँ अनुहार पनि देखिएका छन् । मचाहिँ नयाँ खेलाडीको प्रदर्शनमा अलि बढी केन्द्रित भएर उनीहरूको रणनीति कस्तो हुनेछ, हेर्नेछु ।
यूरोकप अवधिभर खेल हेर्न के–कस्ता योजना छन् ?
धेरैजसो खेल घरमै बसेर हेर्छु । यहाँको समयअनुसार राति हुने यूरोकप सधैं बाहिर गएर हेर्दा हाल हाम्रो पनि यता ट्रेनिङ चलिरहेका कारण अप्ठ्यारो पर्छ । तर पनि क्वालिफाइङ र क्वार्टर फाइनलपछाडिका खेल भने साथीहरूसँगै हेर्ने सोचमा छु ।
तपाईंलाई कुन टिम र खेलाडी मन पर्छन् ?
सानोबेला देखि नै म इङ्ल्याण्डको समर्थक हुँ । त्यसमा पनि बाइन रोनी विशेष मन पर्छ । इङ्ल्याण्डको टिम मन पर्नुको कारण हरेक पछिल्लो खेलमा उनीहरूको स्ट्राटेजी नयाँनयाँ हुने कारणले पनि हो । यसपटक उक्त टिममा देखिएका नयाँ अनुहारको प्रदर्शनी हेर्न थप उत्साहित पनि छु ।
नेपाली फूटबल खेलाडीले यूरोकपबाट सिक्न सक्ने कुरा के–के छन् ?
खेलेरभन्दा हेरेर धेरै सिकिन्छ । प्रत्येक वर्ष स्ट्राटेजी बदलिइरहेका हुन्छन् । यूरोकपमा प्रयोग हुने स्ट्राटेजीहरू यसपछि विश्वभर नै हुने फूटबल म्याचहरूमा प्रयोग हुन्छन्, जसले गर्दा हामी पनि त्यो लाभ उठाउन सक्छौं । नयाँ पर्फर्मेन्सको सदुपयोग गर्न सकिन्छ । खेलाडीहरूलाई नोटिस गरेर उनीहरू देशका लागि कसरी खेल्छन् भन्ने हेरेर हामी पनि सक्छौं ।
नेपाली फूटबल पहिलेको दाँजोमा केही राम्रो हुँदै छ । कस्तो छ नेपाली फूटबलको अवस्था ?
यो कहिल्यै पनि नराम्रो थिएन । हो, पहिलेको दाँजोमा राम्रो हुँदै गएको पनि छ ।
अण्डर २३ दुईओटा गोल्डकप साफ गेम र साफ च्याम्पियनशिप जित्न सफल भए । यो प्रगति हो, तर जुनियर टिमको राम्रो पर्फर्मेन्सले मात्रै हुँदैन, पूरै फूटबल खेलको अवस्था राम्रो हुनुपर्छ । हामीले साउथ एशियनमा राम्रो टिम बन्न प्रयास गर्नु जरुरी छ । पछिल्लो समयमा राष्ट्रिय टिमले फ्रेण्ड्ली म्याच खेलेका आधारमा पनि साफका टुर्नामेण्ट खेल्ने हैसियत बनाएको छ ।
नेपाली फूटबललाई अझै माथि लैजान के गर्नुपर्ला ?
खेलाडीका तर्फबाट नयाँ नयाँ खेलाडीका पर्फर्मेन्स तथा नयाँनयाँ स्ट्राटेजी सिक्न र अभ्यास गर्न जरुरी छ । त्यसैगरी ‘ए’ डिभिजन क्लबहरूको आफ्नै ग्राउण्ड हुनु आवश्यक छ । नेपाली लिगहरू निरन्तर हुन सके मात्र राष्ट्रिय टिम बलियो हुन्छ । २–४ महीना खेलेर ६–७ महीना खाली बस्नुपर्ने अवस्था हट्नुपर्छ । खेलाडीले मेहनतका साथ खेल्नुपर्छ भने सरकारले आवश्यक लगानी गर्नुपर्छ । पछिल्लोपटक बाहिर जितेर आएका खेलाडीलाई सरकारले नगद पुरस्कार दियो । यो राम्रो कुरा हो, तर यतिले मात्रै हुँदैन । फूटबल खेलको स्तर सुधार्ने हो भने पहिलो कुरा ग्राउण्ड राम्रो हुनुप¥यो । अन्तरराष्ट्रिय म्याचहरू आयोजना गर्न सकिने स्टेडियम भएमा आफ्ना खेलाडीहरूको क्षमतामा निखार ल्याउने आधार मिल्छ । साथै, आवश्यक सामग्री र प्रविधि जस्ता कुरामा सरकारले ध्यान दिने हो भने धेरै राम्रो गर्न सकिन्छ ।
यूरोकपबाट तपाईंले सिक्ने कुरा के–के छन् ? नेपाल कहिले यूरोपेली टिमको स्तरमा पुग्ला ?
टिम फर्मेशन सिक्न सक्छु । त्यसैगरी योङ्ग खेलाडीको स्किल सिक्न सक्छु । अहिले हामी भनेको साउथ एशियाको लेभलमा छौं । नेपाललाई यूरोकपको लेबलमा पुग्न अझै धेरै समय लाग्छ । अघिल्लो प्रश्नको जवाफमा मैले भनेका कुराहरू सम्बन्धित सबैले व्यवहारमा ल्याउने हो भने त्यो समय धेरै नजिक आउन सम्भव छ ।
नेपाली फूटबल प्रेमीहरूलाई नेपाली फूटबलको बारेमा के भन्नुहुन्छ ?
फूटबल प्रेमीहरूकै हौसलाले नै हामीलाई थप ऊर्जाका साथ पर्फर्मेन्स दिन प्रेरणा दिन्छ । उहाँहरूले प्रत्यक्ष खेलमा साथै टेलिभिजनमार्फत दर्शक तथा सोसियल मिडिया युजरका रूपमा हरतरीकाले हामीलाई हेरिरहनुभएको हुन्छ । यसमा कतिपय दर्शकले हामीलाई हाम्रै तहबाट हेर्ने र त्यहीअनुसार कमेण्ट तथा सुझाव दिने गर्नुभएको छ भने कतिले चाहिँ वर्ल्डकप, यूरोकप खेल्ने टिमसँग तुलना गरेर कमेण्ट गर्ने गर्नुहुन्छ । नबुझेर पनि यस्तो भएको हो भन्ने मलाई लाग्छ । समग्रमा भन्दा यस्तो नराम्रो भन्दा पनि हामीलाई प्राप्त स्रोतसाधनका आधारमा हामीले दिएको प्रस्तुति कस्तो छ भन्ने दृष्टिबाट हेरिदिन आग्रह गर्छु ।abhiyan.com.np बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...