२८ जेठ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग कुनै भिजन र मिसन नभएको बताएको छ ।
जेठ ३० गतेबाट राजधानीमा सुरु हुने पार्टी घोषणा भेलामा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले सरकारबारे आफ्नो दृष्टिकोण अघि सारेको छ ।
ओली सरकार बन्ने प्रक्रियामा नयाँ शक्तिलाई जोड्न खोजिएको तर, त्यो निरर्थक भएको उसले बताएको छ । संयोजक भट्टराई आफैंले तयार पारेको प्रतिवेदनमा ‘सरकारले राम्रो काम गरे राम्रो र नराम्रो काम गरे नराम्रो’ भन्ने उल्लेख छ ।
‘सरकारको चरित्र र काम थर्ने तरिका हेर्दा यो सरकारले ठीक बाटो लिइरहेको पटक्कै देखिँदैन’ नयाँ शक्तिले भनेको छ । सत्ता स्वार्थले राजावादीदेखि सम्यवादीसम्म, संघीयतावादीदेखि संघीयता विरोधीसम्म, धर्मनिरपेक्षतावादीदेखि हिन्दुवादीसम्म र पहिचानवादीदेखि पहिचान भनेको जातीय विग्रह हो भन्ने सबै सरकारमा रहेको भन्दै उसले भनेको छ, ‘मिलीजुली बसौं, बाँडीचुँडी खाऔं’ भन्ने भन्दा बढी सरकारको कुनै प्रष्ट भिजन, मिसन छैन ।’
अति नै सकारात्मक सोच राखेर समर्थन गर्ने विन्दु खोज्दा पनि केही नभेटिएको उसले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
जनजीविकाका समस्या हल गर्न सरकार असफल भएको, कालाबजारी, महंगी बढेको र अर्थतन्त्र डामाडोल भएको भन्दै नयाँ शक्तिको राजनीतिक प्रतिवेदनमा भनिएको छ,-यो सबैप्रति आँखा चिम्लेर हामी ‘सरकार राम्रो छ’ भन्ने अवस्थामा छैनौं ।’
भारतीय नाकाबन्दीको विरोध
नयाँ शक्तिले भारतीय नाकाबन्दीबारे पनि बोलेको छ । प्रतिवेदनमा ‘हामी भारतीय सत्ता पक्षलाई प्रष्ट भाषामा भन्न चाहन्छौं’ भन्दै भनिएको छ, -नेपाल सर्वभौम र स्वतन्त्र देश हो । यहाँका समस्याहरुको उठान र बैठानको आफ्नै प्रक्रिया हुन्छ । कसैको सदभाव र दूर्भावले यहाँको राजनीतिक घटनाक्रम अन्तिम टुंगोमा पुर्याउन सक्दैन ।’
मधेस आन्दोलनप्रति सदभाव जनाउने नाममा भएको भारतीय नाकाबन्दी निन्दनीय भएको नयाँ शक्तिको ठहर छ ।
भारतीय कदमले कुनै सकारात्मक सन्देश र परिणाम दिन नसकेको भन्दै प्रतिवेदनमा भनिएको छ-‘भारतीय नाकाबन्दीको वाहानामा संकीर्ण/नक्कली राष्ट्रवादको हौवा फैलाएर आन्दोलनको हुर्मत लिने, कालोबजारी र समानान्तर अर्थतन्त्र चलाउनेहरु पनि कम आलोचनाका पात्र छैनन् ।’
नयाँ शक्ति नेपालको राजनीतिक प्रतिवेदनमा मुलुकमा विद्यमान राजनीतिक शक्तिहरुको पनि विश्लेषण गरिएको छ, जुन यसप्रकार छः
पहिलोः कन्जर्भेटिज्म
पञ्चायत र राजतन्त्रको युगमा काम गरेका राजनीतिज्ञहरुको राजनीतिक भविश्य रक्षाका लागि यो धारको जन्म भएको नयाँ शक्ति नेपालको विश्लेषण छ । ‘यो धार भनेको राप्रपावादी धार नै हो । पछिल्लो समय उनीहरु हिन्दुत्वको नारा दिइरहेका छन्’ प्रतिवेदनमा भनिएको छ,- लोकतन्त्रको युगमा राजतन्त्र र निरंकुशताको प्रत्यक्ष पक्षपोषण गर्न पनि नसक्ने, राजनीतिमा कुनै न कुनै रुपमा टिकिरहनु पर्ने आवश्यकताले राप्रपा धार नेपाली राजनीतिमा छ ।’
लोकतान्त्रिक आन्दोलन लडेका मूलधारका दलहरुसँगको फ्रस्टेशनका कारण बरु हिजोकै ठीक भन्ने अतीतवादी दृष्टिकोणबाट प्रभावित भएकाहरु यो धारमा लागेको भन्दै बाबुरामको राजनीतिक प्रतिवेदनमा नयाँ पुस्ताले यसलाई स्वीकार नगर्ने उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ- ‘यो धारको राजनीति केही दशकभन्दा बढी लामो जान सक्दैन ।’
दोस्रोः उदार लोकतान्त्रिक
नयाँ शक्ति नेपालले कांग्रेसले यो धारको प्रतिनिधित्वको गर्ने निष्कर्ष निकालेको छ । उदार लोकतान्त्रिक कि प्रजातान्त्रिक समाजवादी भन्ने सैद्धान्तिक बहस रहेको भए पनि कांग्रेस उदार लोकतान्त्रिक दल नै भएको उसको ठहर छ ।
कांग्रेसको वरिपरि गोलबन्द भएको जनमतको विश्वास लोकतन्त्र हो । तर, लोकतन्त्रका नाममा यो दलभित्र हुर्किएका विकृति विसंगतिहरुले यो जनमत निराश रहेको भन्दै नयाँ शक्ति नेपाल विकल्प हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । कांग्रेसका समर्थकहरु राजावादी, कम्युनिष्ट र क्षेत्रीयतावादी दलहरुमा नजाने उसको विश्लेषण छ ।
तेस्रोः कम्युनिष्ट
नेपाली राजनीतिमा कम्युनिष्ट धारका अनेक घटकहरु रहेको तर, यो विचार टेष्टेट हुँदै गएको उसको विश्लेषण छ । संगठनात्मक हिसावले बलियो भए पनि विचार, कार्यदिशा र आचरणमा समस्या रहेको भन्दै नयाँ शक्तिको राजनीतिक प्रतिवेदनमा भनिएको छ,- ‘विस्तारै यो धारलाई जनताले विश्वास गर्न छाडेका छन् । यो धार आज एउटा वैचारिक आदर्शभन्दा बढी पाखण्ड जस्तो प्रतीत हुन थालेको छ । कुरा क्रान्तिकारी तर, व्यवहार अवसरवादी यसको विशेषता हो ।’
कम्युनिष्ट धारमा लागेका धेरै मानिसहरु एक प्रकारको मनोवैज्ञानिक अन्योल, मानसिक पीडा र शिथिलताममा रहेको भन्दै नयाँ शक्तिले भनेको छ,- ‘यो धारमा निकट भविश्यमै निक्कै ठूलो निराशा छाउने प्रवल सम्भावना छ ।’
चौथोः मधेसवादी/जनजातिवादी
नयाँ शक्तिको राजनीतिक प्रतिवेदनमा मधेसवादी/जनजातिवादीलाई नेपाली राजनीतिको चौथो धारका रुपमा चित्रण गरिएको छ ।मूलधारका दलहरुले संघीयता, समानुपातिक समावेशितालाई समयमै सम्वोधन नगर्दा जन्म भएको यो धारलाई संघीयतावादी/क्षेत्रीयतावादी धार पनि भन्न सकिन्ने उसले बताएको छ ।
यसका धेरै सीमा र टुटफुट रहेको भन्दै नयाँ शक्तिको राजनीतिक प्रतिवेदनमा भनिएको छ,-नेतृत्व पंक्तिको सत्तालिप्सा, अवसरवाद र धोकाधडीबाट उसमा गोलबन्दहरु निराश छन् ।’
क्षेत्रीय आधारमा रहेको संगठन र सानो पहुँचका कारण यो धार राष्ट्रिय विकल्प बनेर आउन नसक्ने हीनताभासमा रहेको नयाँ शक्तिको ठहर छ ।
२०७३ जेठ २८ गते १२:५५ मा प्रकाशित


0 comments
प्रतिक्रिया दिनुहोस्...