तनहुँ जिल्लाको साविक ढोरफिर्दी गाविस हाल शुक्लागण्डकी नगरपालिका १६ स्थित ढोर बराही मन्दिर आउने पर्यटक बढ्दो छ । ठूलो पहाड भित्रबाट पहरो छिचोल्दै प्रत्येक एक घण्टाको समयावधिमा दुईदेखि तीन पटक पानीको बहाव आउने, जलकुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने यहाँको अचम्मको “लहरी” हेर्न पर्यटक ओइरिएका हुन् ।
Image
मन्दिर परिसरमै त्यस्तो अनौठो प्राकृतिक दृश्य स्पष्ट देख्न र अनुभव गर्न सकिने भएकाले सो क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको हो ।सयौं वर्षदेखि देखिँदै आएको सो लहरी २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पका कारण ११ घण्टा रोकिएको र पछि पुनः चालु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामराजा महत बताउनुहुन्छ ।
उहाँका अनुसार तीन दशक अगाडि पनि झण्डै तीन वर्षसम्म पानी आउन बन्द भई लहरी चल्न छोडेको र स्थानीय बासिन्दाको सक्रियतामा ढोर बराही देवीको मन्दिरमा पूजा आराधना गरी बलि चढाइएपछि खुलेको थियो । लहरी (पानीको ठूलो भल) आउनुभन्दा केही समय अघि कुण्डमा रहेका माछाहरु भल निस्कने मुहानतर्फ जम्मा हुन्छन् ।
दृश्यावलोकन र दर्शनका लागि आउने भक्तजन तथा पर्यटकलाई भित्रबाट पानी आउँदै छ भन्ने सूचना गर्नु यहाँको अनौठो विशेषता भएको अध्यक्ष महत बताउनुहुन्छ । ढोर बराही मन्दिरको छेउमै रहेको कुण्डमा देवीको नाउँमा बलि तथा पञ्चबलि दिने प्रचलन परम्परागत रुपमा रहँदै आएको छ । बलि चढाउँदा निस्केको रगत र मासु कै स–साना टुक्रा खाएर त्यहाँ रहेका माछा जीवित रहेका छन् । कुण्डमा रहेका माछाले अन्न खाँदैनन् ।
पानी आउने मूलको भित्र करिव ७ वटा रजवाम रहेको र शान्त वातावरणमा बाहिर निस्कने गरेको भएपनि यही २० गतेदेखि लहरी बढेसँगै दुई वटा वाममाछा मात्रै कुण्डमा देखिने गरेको मन्दिरका पुजारी चिरन्जीवी लम्साल बताउनुहुन्छ । उहाँका अनुसार ढोरबराही देवीको उत्पत्ति कहिले भयो र लहरी कहिलेदेखि छुटेको हो भन्ने यकिन जानकारी नभए पनि मन्दिरमा नेपाल सम्वत् ९११ सालमा चढाइएको एउटा घण्ट भने अहिले पनि सुरक्षित छ ।
ढोर बराही देवीको भाकल गरी बलि चढाएर लहरीबाट निस्केको जलकुण्डको पानीमा स्नान गर्दा बोली रोकिएका बालबालिकाको बोली फुट्ने, सन्तान प्राप्त हुने लगायत आपूmले चिताएको पुग्ने धार्मिक विश्वास रहँदै आएको मन्दिरका पुजारी लम्साल बताउनुहुन्छ । हिउँदको समयमा सानो लहरी चले पनि वर्षाको समयमा निकै ठूलो भुल्को आउने र सो क्षेत्रको लगभग पाँच सय मिटरसम्म झरनाको आवाज सुनिने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
विगत सात वर्षअघिदेखि निरन्तर रुपमा वर्षको दुई पटक पाठो डो-याएर उक्त स्थानमा पुग्ने गरेका पोखरा उपमहानगरपालिका १७ बिरौटाका युवा प्रताप शर्मा विगतको तुलनामा लहरी कम चल्ने गरेको अनुभव सुनाउनुहुन्छ । ढोर बराही मन्दिरमा भक्तजनले चढाएको भेटी र दक्षिणा पुजारीले लिने र लहरीबाट बनेको कुण्डमा चढाइएको बलिको टाउको र सफा गरेको शुल्क समितिको कोषमा जम्मा हुने गरेको छ । यस वर्ष ठेक्काबाट १६ लाख रुपैयाँ समितिलाई प्राप्त भएको उपाध्यक्ष राम बहादुर महतले जानकारी दिनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...