२८ जेठ, जनकपुरधाम । सरकारले किसानलाई सहुलियतमा उपलव्ध गराउँदै आएको रासायनिक मल कालोबजारी हुने गरेको रहस्य सार्वजनिक भएको छ । किसानलाई वितरण गर्न ल्याइने मल बीच बाटौबाटै व्यापारीहरुलाई बिक्री गर्ने तरिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले मध्य तराईको धनुषा र महोत्तरीमा रहेका सहकारी संस्थाहरुबाट वितरण गर्दै आएको गरिँदै आएको रासायनिक मल किसानसम्म नपुग्दै बीचबाटोबाट व्यापारीहरुलाई विक्री वितरण गर्दै आएको तथ्य बाहिर आएकोे हो ।
सरकारले कृषि सामग्री मार्फत कृषि उत्पादन बढाउनका लागि सहुलियत मुल्यमा रासायिनिक मल उपलब्ध गराएपनि कृषि सामग्री जनकपुरले सहकारी दलालहरुसँग मिलेर व्यापारीहरुलाईबीच बाटोबाटै बिक्रीवितरण गर्ने गरेको किसानहरुको दावी छ ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले धनुषामा रहेको एक सय ९७ र महोत्तरीमा रहेको ९४ वटा सहरकारी संस्थामार्फत किसानलाई रासायनिक मल पुर्याउनु पर्ने हुन्छ । तर अधिकांश सहकारी संस्थाले आवश्यकता भन्दा बढी रासायनिक मल लैजाने गरे पनि सो मल किसानसम्म नपुगी सहकारी संस्थालेबीच बाटोमै विक्रेतालाई बढी रकम लिएर बेच्ने गरेको ग्रामीण क्षेत्रका किसान सत्यनारायण महतोको गुनासो छ ।
सहकारी संस्थाले तोकिएको मूल्ययभन्दा बढी रकम लिने र जथाभावी ढुवानी खर्च राख्ने गरेकाले किसानले महँगोमा मल किन्नुपर्ने बाध्यता रहेको सामग्रीमा मल लिन आएका धनुषा बेंगाडाबरका किसान अरुण यादवले बताए ।
सरकारले किसानलाई ५० किलोको युरिया मल प्रतिबोरा ९ सय ५२ रुपैयाँ निर्धारण गरेको छ भने ५० केजीको डिएपी मल प्रतिबोरा दुई हजार तीन सय एक, पोटास मल प्रतिबोरा एक हजार छ सय एक र २५ किजीको जैविक मल प्रतिबोरा एक सय ५१ रुपैयाँ सरकारले तोकेको छ । तर अघिकांश सहकारी संस्थाले ढुवानी खर्चको नाममा चर्को मूल्य लिएर रासायनिक मल बिक्री गर्ने गरेको किसानहरुको गुनासो रहेको छ ।
सहकारी संस्थाले रासायनिक मलको उचित मूल्य निर्धारण गर्न सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाका कर्मचारीहरुले सहकारी संस्थाहरु संगको मिलोमतोमा यस्तो गर्ने गरेको किसान यादवको आरोप छ ।
कार्यालयका वरिष्ठ अधिकृत पूण्य प्रसाद उपाध्याय संग मल खाद्य विक्री वितरण सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा आफुलाई खासै जानकारी नरहेकाले कृषि विकास कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषा संग जानकारी दिने जिकिर गरे । उपाध्याय अधिकांश समय कार्यालय बाहिर बस्दै आएका कारणले पनि मल खाद्य वितरणमा मनोमानि बढेको छ ।
नेपालका लागि आउने मल भारतीय बजारमा
नेपाली किसानको लागि आउने रासायनिक मल केही व्यक्तिले तस्करी गरी सीमावर्ती भारतीय बजारमा समेत पुर्याउने गरेको किसानहरू बताउँछन् ।
सरकारी अनुदानको रासायनिक मल कृषि सामग्री कम्पनीले किसानलाई सोझै उपलब्ध गराउन नसकेकै कारण सहकारी संस्थाले मनोमानी ढङ्गबाट बिक्री गर्दा यसबाट किसान प्रभावित भएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका कर्मचारी नारायण टुडुले स्वीकारे ।
प्रभावकारी अनुगमन नहुँदा यस्तो समस्याहरु आएको उनको कथन छ । सहकारी संस्थाले लैजाने गरेको रासायनिक मल कहाँ बेचेका छन् त्यसबारे अनुगमन गरी यसमा संलग्नहरुलाई कानून बमोजिम कारवाही गर्नु पर्छ, टुडुले भने- किसानको लागि आएको मल किसान ले नै पाउनु पर्छ ।
२०७३ जेठ २९ गते १२:५४ मा प्रकाशित
# कृषि अनुदान # रासायनिक मल


0 comments
प्रतिक्रिया दिनुहोस्...