
Advertisement
|
२० जेष्ठ, थाईल्याण्ड–थाई बौद्व मन्दिरमा ४० वटा बाघका मृत बच्चा भेटिएको छ । मन्दिरमा पालिएका बाघ हटाउने क्रममा थाई प्रहरी तथा वन अधिकारीले फ्रिजरमा राखिएका बाघका बच्चा भेटेको समाचारहरु मा उल्लेख छ । प्रहरी तथा वन अधिकारीले सोमबारबाट मन्दिरमा पालिएका बाघ हटाउन सुरु गरेका थिए ।
प्रहरीले सो बाघका बच्चा कन्चनाबुरी भन्ने ठाउँको मन्दिरबाट निकालेका हुन् । कन्चनाबुरी सो ठाउँको लोकप्रिय पर्यटकीयस्थल मानिन्छ । पुलिसले सो ठाउँमा रेड हानेयता पर्यटकलाई त्यहाँ जान बन्देज लगाइएको छ । प्रहरी अधिकारी बन्दिथ मेउगसुकुमले एफपीसँग कुरा गर्दै बाघको बच्चा मृत भेटिएको खबरको पुष्टि गरेका छन् । उनले मन्दिरका अधिकारीमाथि अपराधको अभियोग दर्ता गर्ने तयारी भईरहेको जानकारी गराए । उनले मृत भेटिएका बच्चा एक वा दुई दिनका रहेको जानकारी दिए । तर उनीहरुको मृत्यु कहिले भएको थियो भन्ने बारेमा भने आफूलाई जानकारी नभएको बताए ।
'मृत बाघका बच्चालाई मन्दिरले कुनै न कुनै प्रयोगका लागि राखेको हुन सक्छ,' थाईल्याण्ड राष्ट्रिय निकुञ्जका एक अधिकारी एडिसोर्न नुचदामरोङ रोयर्टसलाई भने,' तर यसबाट के फाइदा हुन्छ ,बुझ्ने क्रममा छौं ।' बाघको हड्डी तथा शरिर चीनमा परम्परागत उपचारका लागि प्रयोग गर्ने प्रचलन छ । मन्दिरका भिक्षुहरुबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन तर पहिला नै उनीहरुले तस्करीको आरोपको खण्डन गर्दै आएका छन् ।
तर मन्दिरको फेसुबक पेजमा धारणा राख्दै मन्दिरमा डमरुको मृत्युदर न्यून रहेको दाबी गरेको छ । सो पेजमा पहिले कालगतिले मरेका डमरुलाई गाड्ने गरिएको तर सन् २०१० यता नीति परिवर्तन गरिएको उल्लेख छ । फेसबुकमा पेजमा अधिकारीले डमरु बेच्ने गरेको आरोप निराधार रहेको दाबी गरेपनि डमरुलाई किन फ्रिजमा राख्ने थालियो ? भन्ने विषयमा मौनता साँधेको छ । तर फ्रिजरमा बाघ बाहेक अन्य जनावरका अंग पनि भेटिएका छन् । एक पत्रिकाका पत्रकारले कन्टेनरमा सुँगर र अन्य जनावरका अंग पनि देखेको दाबी गरेका छन् ।
तर बाघ स्थान्तरणमा संलग्न केहीले सरकारी निर्णयले बाघलाई क्षति पुग्ने दाबी गरेका छन् । 'यसरी बिना योजना स्थान्तरण गर्दा बाघको मृत्युदर झन् बढ्न सक्छ । चर्को गर्मीमा बाघलाई राम्ररी बेहोस नबनाई गरिएको स्थान्तरणले उनीहरुलाई भविष्यमा निकै क्षति पुगनेछ,' मन्दिरमा १० वर्ष काम गरेका एक क्यानेडियनले भने । उनले स्थान्तरण गरिएको ठाउँमा पर्यात्त ठाउँ नभएको पनि बताएका छन् । 'अहिले हेर्दा सही कदम जस्तो लागेपनि कालान्तरमा यो समस्या स्वयंसेवक र वन अधिकारीले सोचेभन्दा विकराल हुन सक्छ,' उनले बताएका छन् ।
तर विश्व वन्य जन्तु कोषले थाई सरकारको यस्तो कदमको खुलेर स्वागत गरेको छ । साथै उसले थाई सरकारलाई मन्दिरमा बाघ पाल्न दिने कुरामा कठोर हुन पनि आग्रह गरेको छ । सन् २००१ देखि सरकार र भिक्षुहरुका बीचमा यो सम्बन्धि कानुनी लडाई चलिरहेको थियो । सरकारले भिक्षुहरुलाई वन्य जन्तु तस्करीको आरोप लगाउँदै आएको थियो भने भिक्षुले सो आरोप अस्विकार गर्दै आएका थिए ।
विवादित इतिहास
'टाइगर टेम्पल' जसलाई 'वात फ लुआङ ता बु यान्नासाम्पानो' पनि भनिन्छ विगत एक हप्ता यता विवादमा छ । मन्दिर पश्चिम बैंकको कन्चनाबारी क्षेत्रमा पर्दछ जुन बैंकको चर्चित पर्यटकीय स्थल मध्ये एक मानिन्छ । यो मन्दिरमा सबैभन्दा पहिले सन् १९९९मा पहिलो बाघको बच्चा पालिएको थियो तर त्यही साल ७ वटा बच्चा थप्दै ८ वटाबाट यहाँ बाघ पालन सुरु गरिएको थियो । सन् २०१६ सम्म आईपुग्दा यो संख्या १३७ पुगेको छ ।
यहाँ पालिएका अधिकांश बाघ बंगाल प्रजातिका हुन् भने केही मिश्रित प्रजातिका । तर मन्दिरमा बाघ बाहेक, स्याल, धनेश, एसियन भालु पनि विना अनुमति राख्ने गरिएको थियो । मन्दिरमा प्रवेशका लागि ६ सय भाट तिर्नुपर्छ जुन नेपालीमा लगभग हजार पर्न आउँछ । त्यसबाहेक जनावरलाई खुवाउन र फोटो खिच्नका लागि पनि जनावर अनुसार बेग्लै पैसा तिर्नुपर्छ । यसरी मन्दिरले वर्षेनी एक करोड थाइभाट कमाउने गरेको छ ।
पयर्टकका आवागमन बढेसँगै बौद्व भिक्षुले चलाउने मन्दिरमा बाघलाई अनधिकृत रुमा राखेको, उनीहरुको राम्ररी हेरचाह नगरेको तथा अवैध प्रजनन् गराएर तस्करी गर्ने गरेको आरोप लाग्दै आएको थियो । त्यहाँ काम गर्ने पूर्व कर्मचारीले बाघलाई पिट्ने, खान नदिने र राम्ररी उपचार पनि नगर्ने गरेको बताउँदै आएका थिए । त्यसमाथि गतसाल नेसनल जोग्राफीले भिक्षुहरुले आफ्नो फाइदाका लागि बाघको अवैध प्रजनन् गराउँदै आएको खबर छापेपछि भने भिक्षुहरु माथिको शंकामा बल पुगेको थियो ।
सन् २०१४मा तीनवटा बाघ गायब भएपछि खैलाबैला मच्चिएको थियो । थाईल्यान्डमा लोपोन्मुख जनावर पाल्दा तिनमा माइक्रोचिप राख्नु पर्ने कानुनी प्रावधान छ ताकि उनीहरुलाई जता भएपनि कहाँ छन् भनेर पकड्न सकियोस् । तर यसरी हराएका बाघ भेटिएनन् । तर पछि मन्दिरमा काम गर्ने भेटेनरी डाक्टरले हराएका बाघमा माइक्रो चिप नै नराखिएको रहस्योद्घाटन गरिदिएका थिए । तर त्यसभन्दा पहिले नै थुप्रै गैरसरकारी संस्थाले मन्दिरको बाघ पाल्ने कदमको विरोध गर्दै आएका थिए । चर्को विरोधको सामना गर्नुपरेपछि मन्दिरले केही समयअघि मात्र चिडियाखानाको मान्यताका लागि राष्ट्रिय निकुञ्ज समक्ष निवेदन दिएका थिए । यसको मान्यता पाए उनीहरुले बाघसँगै अन्य जनावर कानुनी रुपमा नै राख्न पाउँथे । सरकारले झण्डै मन्दिरलाई यसको अनुमति दिईसकेको थियो तर यसको पनि अधिकारवादी संस्थाहरुले चर्को विरोध गरेपछि सरकार पछि हटेको थियो ।
हप्ता दिनको प्रयत्नपछि अहिलेसम्म ४० वटा बाघ अन्यस्थानमा स्थान्तरण गरिएको छ । तर मन्दिर पदाधिकारीले निरन्तर असयोग गरेका कारण सबै बाघ स्थान्तरण गर्ने लामै समय लाग्ने अनुमान गरिएको छ । मन्दिर पदाधिकारीले बाघको सिक्रि खोल्दिने, सरकारी अधिकारीलाई तर्साउने आदि काम गरिरहेका छन् । यसरी छुटेको बाघले केह िजनाबार मारिदिएको पनि बन अधिकारीले बताए । वन अधिकारीको छापा लगत्तै मन्दिरले बाघलाई खाना खुवाउन पनि छाडेको छ ।
यसरी स्थानान्तरण गरिएका बाघलाई रतछाबुरी प्रान्तको सरकारी प्रजनन् केन्द्रमा राखिने अधिकारीहरुले बताएका छन् । तर यि बाघलाई जंगली जनावरझैं स्वतन्त्र भने छाडिने छैन । किनकी यिनीहरु मान्छेको संगतमा हुर्किएकाले स्वतन्त्र छोड्दा बाँच्ने सम्भावना न्यून हुन्छ ।नागरिक न्यूजबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...