वैशाख २४
काठमाडौं । ‘उहिले बाजेको पालामा’बाट उदाएकी अभिनेत्री पूजा रिजालको अहिले चर्चा चुलिँदो छ । ‘उहिले बाजेको पालामा’ मुखियानीको भूमिकामा जोडदार अभिनय गरेकी पूजाले फिल्म रिलिज अगावै आधा दर्जन फिल्ममा खेलिसकेकी छिन् ।
शुक्रबारबाट रिलिज भएको ‘उहिले बाजेको पालामा’ मुखियानी बनेकी पूजाले खेलेको यो नै पहिलो फिल्म हो । तर, पूजालाई यसअघि पनि ‘उहिले बाजेको पालामा’को टिमले बनाउने तयारी गरेको धार्मिक फिल्म ‘स्वर्गद्वारी महाप्रभू’मा श्वेता कुमारीको भूमिकामा अनुबन्धित गरिएको थियो ।
‘स्वर्गद्वारी महाप्रभू’को छायाँकन गर्ने अन्तिम तयारी भइरहँदा सो फिल्मको वर्कशपमा पूजालाई प्रशिक्षण दिइएको हो । त्यसपछि उनले ‘मुखियानी’को अभिनय गर्न पाइन् ।
सानैदेखिको आफ्नो अभिनयको इच्छालाई पूजाले पूरा गर्न पाएकोमा दङ्गछिन् । ‘फिल्म खेल्ने धोको सानैदेखिको हो’, पूजाले भनिन्, ‘उहिले बाजेको पालामा फिल्मबाट ब्रेक पाएपछि अहिले मलाई राम्रो भएको छ ।’ पूजाका अनुसार अहिले उनले भोजपुरी फिल्म ‘मेला’मा अभिनय गरिरहेकी छिन् ।
यसअघि पूजाले ‘मेरो मनमा बसिदेउ न’मा पनि अभिनय गरिसकेकी छिन् । उनको अभिनयबाट फिल्म टिम खुसी नै छ । ‘फिल्ममा मैले गरेको अभिनयबाट सबै सन्तुष्ट भएको पाएको छु’, पूजाले भनिन्, ‘सबैमा अलग–अलग भूमिका छन् । विशेष गरेर आमाको भूमिकामा देखिएकी छु । यो भूमिकामा मेरो ब्रान्डनै बनिसकेको छ ।’
भारतको मद्रासमा जन्मिएकी पूजालाई त्यतिबेलै फिल्मको हावाले छोएको थियो । पूजालाई सानैदेखि नै फिल्म खेलौँखेलौँ लागेको थियो । तर, उनले आफ्नो इच्छालाई पूरा गर्न सकेकी थिइनन् । अहिले आएर पूजाको अभिनय पर्दामा आउन सुरू भइसकेको छ ।
मद्रासमा नै पूजालाई आफ्ना बुबाले पनि फिल्मका लागि प्रोत्साहन गर्नुभएको रहेछ । मद्रासमा फिल्मको काम हुने स्थानमा रोजगारी गर्दै आउनुभएका उहाँका बुबाको दक्षिण भारतका कलाकारहरूसँग दैनिकसरह भेट हुन्थ्यो । पूजाले त्यही बेला नै बलिउडका चर्चित कलाकार रजनीकान्तसँग भेट गर्ने मौका पाएकी थिइन् ।
फिल्ममा तपाईको भूमिका आमाको मात्रै देखिन थाल्यो नी भन्ने जिज्ञासामा पूजाले भनिन्, ‘अभिनय जे गरेपनि हुन्छ । अभिनय राम्रो गर्नुपर्छ । जुन भूमिका भएपनि त्यसमा छाप छाड्न सक्नुपर्छ ।’
‘उहिले बाजेको पालामा’बाट कस्तो अपेक्षा राख्नुभएको छ भन्ने प्रश्नमा पूजाले भनिन्, ‘आफूले अभिनय गरेको फिल्मबाट ठूलो अपेक्षा छ । फेरि यो फिल्म मेरो पहिलो फिल्म पनि हो ।’ उनले आज शुक्रबारबाट रिलिज भएको ‘उहिले बाजेको पालामा’लाई हलसम्म पुगेर एकपटक हेरिदिन सबैसँग आग्रह पनि गरेकी छिन् ।
‘फिल्ममा मेरो अभिनय कस्तो छ, हलसम्म पुगेर हेरिदिन आग्रह गर्छु’, पूजाले भनिन्, ‘त्यसपछि आउने सल्लाह सुझावअनुसार आगामी दिनमा अभिनय गर्नेछु ।’- दैनिक नेपाल डट कम


0 comments
प्रतिक्रिया दिनुहोस्...