बैशाख २९
ललितपुर । व्यक्ति अपहरण गरी फिरौती लिएको अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका गुन्डा–नाइके गणेश लामाले सफाइ पाएका छन्। ललितपुर जिल्ला अदालतले सोमबार लामासहित अन्य दुई जनाविरुद्ध परेेको शरीर बन्धक तथा अपहरण मुद्दामा फैसला गर्दै तीनै जनालाई सफाइ दिएको हो।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले जाहेरीकर्ताको बयान र लिखित निवेदनमा घटना लेनदेनको मात्र भएको र कारोबार मिलिसकेको खुलेकाले तीनै जना दोषी ठहर नहुने फैसला गरेको हो।
प्रहरीले गत साउनमा कैलाश बास्कोटा र विक्रम बास्कोटालाई नख्खुबाट अपहरण गरी लामाको पेरिस डाँडास्थित घरमा बन्धक बनाएको अभियोग लगाई मुद्दा हालेको थियो। त्यसयता फरार रहँदै आएका लामाले अदालतमा हाजिरै नभई सफाइ पाएका छन्। अदालतका स्रेस्तेदार बाबुराम दाहालले घटनामा पीडितले कारोबार मिलिसकेको र आफू अपहरणमा नपरेको लिखित निवेदन दिएका आधारमा अदालतले तीनै जनालाई सफाइ दिएको बताए। पक्राउपुर्जी जारी गर्नु नपर्ने मुद्दा हो, केही प्रतिवादी अदालतको म्याद नाघेर फरार थिए,’ उनले भने।
बास्कोटाद्वयले आफूहरूलाई नख्खुबाट मोटरसाइकलमा आएका ६ जनासहित गणेश लामा, विक्रमजित लामा र कान्छीमाया थिङले पेस्तोल देखाएर नियन्त्रणमा लिई गणेशको घरमा बन्धक बनाएको भन्दै गत साउन ३० गते प्रहरीमा उजुरी हालेका थिए। प्रहरीले घटनामा संलग्न आरोपमा विक्रमजित लामालाई पक्राउ गरी अदालत पेस गरेको थियो। ललितपुर अदालतमा असोज २४ गते भएको थुनछेक बहसमा विक्रमजितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको थियो। अन्य अभियुक्तका हकमा फरार घोषणा गर्दै देख्नासाथ पक्राउ गर्न आदेश जारी भएको थियो।
ललितपुर प्रहरीप्रमुख एसएसपी पीताम्बर अधिकारीले पीडितबाट आएको जाहेरीका आधारमा घटनाको अनुसन्धान गर्दा पुरानो लेनदेन भए पनि बास्कोटाद्वयलाई नियन्त्रणमा लिएर जबर्जस्ती कागज गराएको खुलेको बताए। उनका अनुसार पक्राउ परेका विक्रमजित र साक्षी रहेका अन्यसमेतले घटना स्विकारी संलग्न सबैको पहिचानसहित बयान दिएका थिए। जाहेरी दिने कैलास बास्कोटाले आफूलाई लामाले जबर्जस्ती पजेरोमा राखेर पेरिसडाँडा पुर्यााएको भन्दै आवश्यक कारबाही गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए। प्रहरी मुचुल्कामा पक्राउ परेका विक्रमजितको बयानसहित घटना देख्ने र सुन्ने मुक्ति बास्कोटा, बालकृष्ण पिडारी र पवित्रा बास्कोटासमेतले अदालतमा गरेको बकपत्रमा घटना अपहरण नै भएको उल्लेख गरेका छन्।
प्रहरीपरिसर ललितपुरका अनुसार २०५७ सालबाट कान्छीमाया थिङ र बास्कोटाद्वयबीच ललितपुर, सातदोबाटोस्थित जग्गा किनबेचको किचलो थियो। विभिन्न समयमा कान्छीमाया र बास्कोटाद्वयले परिसरमै छलफल गरे पनि विवाद मिल्न सकेको थिएन। विवादकै बीच गत साउन ३० गते नख्खुपुलनजिक चिया खाइरहेको अवस्थामा बास्कोटाद्वयलाई गणेश लामासहितको समूहले नियन्त्रणमा लिई ४० लाखको कागज गराएको थियो। प्रहरीले लेनदेन विवाद कायम रहेको घटनामा व्यक्ति अपहरण गरेको जाहेरी परेपछि आवश्यक कारबाही अगाडि बढाएको हो। प्रहरीको गुन्डा नाइके सूचीमा रहेका लामा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत हुन्।
- News24Nepal.com


0 comments
प्रतिक्रिया दिनुहोस्...