जेष्ठ १
काठमाडौं । नाकाबन्दी लगायतका आन्दोलनबाट माग पूरा नभएपछि मधेशी दलहरु यतिबेला राजधानी केन्द्रीत आन्दोलनमा लागेका छन् ।
मधेशमा भएको नाकाबन्दीले राज्यसत्ता नगलेको निष्कर्षमा पुगेका मधेशवादी दलहरुले शक्तिप्रर्दशन गर्न आन्दोलनलाई राजधानीतर्फ केन्द्रीत गरेका छन् ।
आज दिउँसो ३ बजे शान्तिबाटिकाबाट जनप्रर्दशन गर्दै जेठ दुई गते अर्थात भोलिबाट सिंहदरबार घेराउ गर्ने गठबन्धनको योजना रहेको छ ।
झण्डै १० महिना अघिदेखि जारी मधेश आन्दोलन माग पूरा नभई तुहिने अवस्थामा पुगेपछि गठबन्धनले राजधानीमा आएर आन्दोलन गरी राज्यसत्ता गलाउने नीति अख्तियार गरिरहेका छन् ।
यद्यपी उनीहरु यो आन्दोलनबाट माग पूरा गराउन सक्षम हुन्छन् या हुँदैनन् त्यो आन्दोलन पछिका दिनहरुले नै तय गर्ने छन् ।
भोलिहुने सिंहदरबार घेराउ कार्यक्रमका लागि देशका विभन्न क्षेत्रबाट हजारौं कार्यकर्ताहरु राजधानी उतार्ने चेतावनी सहित आन्दोलनमा उत्रिएको गठबन्धन स्वयम् पनि यतिबेला विवाद भित्र रुमलिएको छ ।
जेठ २ गते गर्ने भनिएको आन्दोलनको स्वरुप कस्तो हुने भन्नेमा एकरुपता आउन सकेको छैन ।
राजधानीमा आन्दोलन गरिसकेपछि त्यो पनि तुहिने अवस्था आएर पछाडि फकर्नुपर्ने अवस्था आउनसक्नेमा गठबन्धन भित्रैका केही दलहरुको निष्कर्ष छ ।
यो विवादलाई थाती राख्दै गठबन्धन भोलिको आन्दोलनको अन्तिम तयारीमा जुटिसकेको छ ।
गठवन्धनले भोलि गर्न लागेको आन्दोलनको विषयलाई सुरक्षका निकायहरुले गम्भीरताका साथ लिएर उनीहरुले पनि आफ्नो तयारीलाई तीब्र बनाएका छन् ।
सरकारले आन्दोलनका लागि निषेधित क्षेत्र घोषणा गरेकै ठाउँमै आएर मधेशवादी दलहरुले अन्दोलन चर्काउने बताएपछि सुरक्षा निकायले ती क्षेत्रको सुरक्षाका लागि पूर्व तयारीका कामसमेत सम्पन्न गरिसकेको छ ।
यतिमात्र होइन आन्दोलनमा अप्रिय घटना नहोस भन्नेमा सुरक्षा निकायको उच्चतहबाट निर्देशन समेत भइसकेको छ ।
भोलिको आन्दोलनलाई मध्यनजर गर्दै झण्डै ३ हजार सुरक्षाकर्मी परिचालन हुनेसमेत बताइएको छ ।
( स्रोत : नेपालीपत्र )


0 comments
प्रतिक्रिया दिनुहोस्...