दिल शिरीष/उज्यालो ।
बागलुङ, वैशाख २६ – स्थानीय बासिन्दाको तिव्र बिरोध हुँदा हुँदै पनि ढोरपाटन शिकार आरक्षको सुरक्षार्थ नेपाली सेना खटिएको छ । आरक्ष क्षेत्रमा भइरहेको चोरी शिकार, अतिक्रमण जस्ता अवैध कार्य रोक्न सरकारले सेना राखेको हो ।
नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयमार्फत हनुमानध्वज गुल्म आरक्ष क्षेत्रमा पुगेको क्याप्टेन असिम श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले सेना राख्ने निर्णय गरेको दुई वर्षपछि आरक्षमा सेना परिचालित भएको हो । भौतिक पूर्वाधार, बजेट र जनशक्ति व्यवस्थापन समयमै नहुँदा सेना आउन ढिला भएको हो । बन्दोबस्तीसहित ८० जना
आरक्षमा तैनाथ भइसकेको र बाँकी अर्को सातासम्म आइपुग्ने क्याप्टेन श्रेष्ठले बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले वन मन्त्रालयमार्फत तीन वर्षअघि नै आरक्षमा सेना खटाउन माग गरेको थियो । आरक्षको सुरक्षा र संरक्षणमा सेना राखेर सरकारले उपयुक्त कदम चालेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
‘आरक्षको सुरक्षा व्यवस्था ज्यादै कमजोर छ, चोरी शिकार, जग्गा अतिक्रमणजस्ता अवैध कार्य भइरहेका छन्,’ अधिकृत बरालले भन्नुभयो ‘अब सेना आएपछि ती सबै नियन्त्रणमा आउनेछन्, आरक्षका कर्मचारीले पनि निर्धक्क भएर काम गर्ने वातावरण बन्नेछ ।’
एक हजार ३ सय २५ वर्ग किमीमा फैलिएको आरक्ष हातामा यसअघि सुरक्षाको नाममा एउटा प्रहरी चौकी र आरक्षका कर्मचारी मात्र थिए । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको ढोरपाटन क्षेत्रमा तस्कर सक्रिय रहेकाले सेना परिचालनले तिनीहरु निरुत्साहित हुने ठानिएको छ ।
आरक्षमा नाउर, कस्तुरी, मृग, घोरल, झारल, बँदेल, भालु, डाँफे, मुनाललगायतका जनावर र पक्षीको लुकीछिपी सिकार हुँदै आएको छ ।सिकार (ब्लक)हरुमा वन्यजन्तुका छाला, सिङ तथा स–साना हतियार फेला पर्ने गरेको आरक्षका कर्मचारीले बताएका छन् ।
आरक्ष क्षेत्रमा नेपाली सेना राख्ने मन्त्रिपरिषद वैठकले निर्णय गरे लगत्तै लगातार स्थानीय सामाजिक अगुवा र केही राजनीतिक पार्टीका नेताहरुको अगुवाइमा सेना राख्ने निर्णयको बिरोध गर्दै आएका छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयदेखि केन्द्रिय निकायमा समेत सेना नराख्न ध्यानाकर्षण पत्र बुझाएका थिए । स्थानीयबासिन्दाले सेना आएपछि सामाजिक विकृती बढ्ने र विचलन हुने आरोप लगाउँदै आएका थिए । आरक्षाको सुरक्षाको जिम्मा स्थानीयबासिन्दाले नै पाउनु पर्ने माग पनि उनीहरुको थिो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...