-->
ओलीले पढेका छैनन्, ‘पुनर्लेखन’ र ‘संशोधन’ बुझ्दैनन् : उपेन्द्र
Advertisement

वैशाख ३१
काठमाडौं – संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरु चाहनाले नभएर सत्तापक्षको प्रतिगामी र नश्लवादी चरित्रले गर्दा पुनः आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् ।
जेठ १ गतेदेखि मधेसी, आदिवासी र जनजाति पार्टीहरुको गठबन्धनले शुरु गर्न लागेको संयुक्त राष्ट्रिय आन्दोलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अहिलेको राजनीतिक गतिरोधको मुख्य जिम्मेवार सरकारनै रहेको अरोप लगाए ।
उनले विगतमा समस्याको समाधान गर्नका लागि प्रयाप्त लचकता प्रदर्शन गरे पनि सरकारले विगतमा भएका सम्झौता र सहमति उल्टाएर देशमा ठूलो संकट निम्ताइरहेको बताए । ‘संविधानको पुनर्लेखन गरी नसच्याएसम्म र आन्दोलनरत दलहरुले उठाएका मागहरु सम्बोधन नहोउञ्जेलसम्म हाम्रो संघर्ष जारी रहनेछ,’ यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गठबन्धनले जेठ १ गते काठमाडौंमा जनप्रदर्शन गर्दै छ भने जेठ २ गते सिंहदरवार घेराउको कार्यक्रम तय गरेको छ । सरकारको तर्फबाट आन्दोलनलाई हिंसात्मक मोड दिने प्रयास हुनेबारेमा आफूहरु सचेत रहेको बताउँदै आन्दोलनमाथि दमन गरी बल प्रयोग गरेमा यस कारण देशमा दीर्घकालिन संघर्ष र गृहयुद्धको स्थिति सृजना हुने चेतावनी समेत विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
ओली घोडा, प्रचण्ड घोडालाई घाँस खुवाउने
पत्रकार सम्मेलनमा बोल्दै यादवले प्रधानमन्त्री केपी ओली घोडा र एमाओवादी अध्यक्ष प्रचण्ड ‘घोर घँसिया’ (घोडालाई घाँस खुवाउने) भएको बताएका छन् । ‘दोस्रो संविधानपछि हामीले प्रचण्डजीसँग मिलेर आन्दोलन गर्यौं । वहाँलाई विभिन्न मञ्च दिऔं । तर जब पिक प्वाइन्ट आयो उनी ओलीतिर लाग्नुभएको छ । वहाँ घोडालाई घाँस खुवाउने बन्नुभएको छ ।’
एमाओवादी नेता गोपला किँरातीतर्फ इशारा गर्दै उनले थपे, ‘अहिले किराँतीजी आन्दोलनमा सहयोग गर्न आउनुभएको छ । वहाँले पक्कै प्रचण्डजीलाई चिनेर यहाँ आउनुभएको होला ।’
मधेसी गठबन्धनको आन्दोलनमा एमाओवादी नेताको समर्थन
प्रधानमन्त्री ओलीले संसद्मै संविधान पुनर्लेखन हुन नसक्ने बताएको बारे टिप्पणी गर्दै यादवले प्रधानमन्त्रीले कम पढेको हुँदा संशोधन र पुनर्लेखन नबुझेको बताए । ‘यदी उनले बुझेको भए त्यस्तो बोल्ने थिएनन्,’ उनले पत्रकारहरुलाई भने, ‘एक पटक तपाईंहरु नै वहाँलाई संविधान संशोधन र पुनर्लेखनको फरक छुट्याउन सोध्नुहोस् ।’
यादवले आन्दोलन शुरु नहुँदै सरकार अत्तालिएको र बालुवाटारमा ओलीलाई निद्रा लाग्न छाडेको बताउँदै भने, ‘वहाँ जथाभावी बोल्नुको कारण पनि त्यही हो ।
गठबन्धनमा विवाद छैन
गठबन्धनमा विवादबारे पत्रकारको प्रश्नमा हृदेश त्रिपाठीले जवाफ दिँदै त्यस्तो समाचार गलत भएको बताए । उनले गठबन्धन संगठीत भएर अघि बढेको जिकिर गर्दै कुनै विवाद नभएको बताएका छन् ।
‘कोही बिरामी भएर बैठकमा गएन भन्दैमा विवाद हुँदैन,’ उनले भने, ‘हामी सबै मिलेर आन्दोलन गर्छौं ।’
यता, आन्दोलनमा मारिनेलाई ५० लाख घोषणाबारे प्रश्न गर्दा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यो आन्दोलनमा त्यस्तो कुनै घोषणा नगरेको स्पष्ट पारे । यद्यपि, यसअघिको घोषणा पनि बलिदानी दिने भनिएको ५० लाख पनि पैसा नभएर सम्मानको विषय भएको र उक्त रकम सरकारलाई तिर्न लगाउने र आफूहरुले पनि दिने बताए ।- रातोपाटी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.