जुम्ला, २८ वैशाख ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वायत्तता र विकेन्द्रीकरण बिना कर्णालीको विकास हुन नसक्ने बताउनुभएको छ ।
कर्णालीका कार्यकर्तासंगको भेटघाटमा जुम्ला पुग्नुभएका अध्यक्ष बिजुक्छेले ‘चीनबारे हाम्रो विचार’ नामक पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा यो कुरा बताउनुभयो । उहाँले भन्नुभयो, केन्द्रले लादेका योजनाअनुसार काम गर्दा कर्णाली पछि परेको हो । राज्यले यहाँको खास आवश्यकता, हावापानी, माटो, भूगोल र हिमाली भेकको अनुकूलित आर्थिक वर्षसँग अहिले पनि चासो दिएको छैन, जसको कारण यस क्षेत्रको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव परेको छ, उहाँले थप्नुभयो ।
अध्यक्ष बिजुक्छेले पछिल्लो चरणमा विकास निर्माणका लागि छुट्याएको रकम दलले खाने गरेको आरोप लगाउँदै आफ्ना कार्यकर्तालाई कमिसन, घुसखोरी र भ्रष्टाचारमा संलग्न नहुन निर्देशन दिनुभयो ।
त्यसैगरी, उहाँले देशको कूटनीतिक मर्यादा विपरीत क्रियाकलाप गर्ने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई कारबाही गर्नुपर्ने धारणा राख्नुभयो । राजदूत कुनै पार्टीको कार्यकर्ता नभई नेपालको प्रतिनिधि भएकाले सरकारको कामलाई भारतका उच्च अधिकारीसामु पु¥याउनु हो, पार्टीको अभिव्यक्ति नभई सिङ्गो नेपाली जनताको भावना बोल्न सक्नुपर्छ, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेले एक अर्को प्रसङ्गमा नाकाबन्दीको सम्पूर्ण जिम्मेवारी मधेसवादी दलले लिनुपर्ने बताउनुभयो । उहाँले नेता नेपालको बनेर भारतको इसारामा चल्ने काम बन्द गर्नुपर्छ भन्नुभयो । मधेसवादी दलले नाकाबन्दी र आन्दोलनका नाममा भ्रष्टचारी र कालोबजारीलाई संरक्षण गरेको भन्दै यस्ता कुकृत्य विरुद्ध जनता एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । मूलतः मधेसवादी दलका कारण देशको अर्थतन्त्र धरासायी बन्न पुगेको उहाँको दोषारोपण थियो ।OSNEPAL बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...