बैशाख २५
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार रुपक स्मृति पुरस्कार–२०७२ बाट सम्मानित गरेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यक्रममा अनिलसँगै महिला राष्ट्रिय टोलीकी कप्तान अनुलामा पनि पुरस्कृत भइन्।
राष्ट्रिय टोलीका पूर्वकप्तान तथा रेफ्री रुपकराज शर्माको स्मृतिमा एन्फाले २०५३ सालदेखि महिला तथा पुरुष फुटबल टोलीका खेलाडी, रेफ्री र प्रशिक्षकलाई पुरस्कृत गर्दै आएको छ। प्रशिक्षकमा विराटकृष्ण श्रेष्ठ सम्मानित भए। फिफा सहायक रेफ्री शैलेश जोशी र बिना श्रेष्ठ रेफ्रीतर्फ सम्मानित भएका छन्।
उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्वलाई जनही १ लाख नगदसहित मोटरसाइकल प्रदान गरिएको थियो। मन्त्री रायमाझीले राष्ट्रलाई एकतावद्ध बनाउन खेल क्षेत्रको भूमिका महŒवपुर्ण रहेको बताए। उनले खेल क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्ने भए राजनीतिको प्रवेश दुःखद भएको बताए।
'राष्ट्रलाई एकतावद्ध गर्न सक्ने यस क्षेत्रमा राजनीति हुनु प्रवेश पाउनु दुखद हो। खेल क्षेत्रले जुन गतिमा विकास गर्नुपर्थ्यो, त्यो हुन सकेन। देशमा भएको अस्थिरता लगायतका विषयले यसलाई असर गर्यो ,' मन्त्री रायमाझीले भने, 'पहिले सभ्रान्त परिवारको सोखका रुपमा रहेको खेलकुद अब त्यो स्थितिमा छैन। त्यसैले यसलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ। खेल क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट वृद्धि गरिनुका साथै स्पष्ट नीति बनाउनुपर्छ र भौतिक संरचनाको विकास हुनु आवश्यक छ।'
सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु अनिलले ४५ खेल खेलिसकेका छन्। पछिल्लो समय मनाङ मस्याङ्दी क्लबको कप्तानी गरिरहेका २९ वर्षे अनिलले ९ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। पोखरामा जन्मिएका उनले २००३ मा सहारा एकेडेमीबाट खेलजीवन प्रारम्भ गरेका थिए। त्यसपछि ब्रिगेड ब्वाइज, थ्रीस्टार हुँदै मनाङ मर्स्याङ्दी पुगेका उनले केही समय एनआरटीबाट पनि खेले।
२०१० सालमा जन्मिएका रुपकले २०३१ देखि२०४२ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए। ३२ सालमा प्रहरी सेवामा प्रवेश गरेका रुपकले ४३ सालमा फिफा रेफ्रीको लाइसेन्स लिएका थिए। पाकिस्तानबाट फर्कने क्रममा उनको २०४९ सालमा जहाज दुर्घटनामा मृत्यु भएको थियो।
२०४४ सालमा रौतहटमा जन्मिएकी अनुले ३५ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्। उनी राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनले राष्ट्रिय स्तरको प्रतियोगितामा पनि धेरै गोल गरेकी छन्। उनको खातामा १ सय २० गोल छ।
प्रशिक्षक विराटकृष्ण श्रेष्ठले २००७ देखि २०१५ सम्म नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालेका थिए। भारतको पटियालाबाट प्रशिक्षणडिप्लोमा कोर्स गरेका विराटको प्रशिक्षणमा पुलिस क्लबले २००७ र ०८ मा एफसी प्रसिडेन्ट्स कप खेलेका थियो। २००८ मा एफसी च्यालेन्ज कपमा उनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए। उनले १९९२ देखि १९९४ सम्म जर्मनीको एक परियोजनामा पनि काम गरिसकेका छन्।
त्यस्तै शैलेश जोशीले १९९७ मा रेफ्रीमा डेब्यु गरेका थिए। उनले २००१ देखि २०१२ सम्म फिफा सहाय रेफ्री भएर थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक खेलाएका छन्। रेफ्रीबाट संन्यास लिइसकेका उनी रेफ्री एसेसर र फिटनेस इन्स्ट्रक्टरमा सक्रिय छन्।
महिला रेफ्री बिना पूर्व एथलेटिक्स खेलाडी हुन्। उनले आठौं दक्षिण एसियाली खेलकुदमा एथलेटिक्सबाट दुई कांस्य पदक जितेकी थिइन्। एथलेटिक्सबाट फुटबलमा लागेकी बिनाले आठौं महिला राष्ट्रिय, प्रथम मेयर कप र मंगलादेवी महिला फुटबलमा भाग लिँदै स्वर्ण जितेकी छन्। अहिले उनी फिफा सहायक रेफ्रीका रुपमासक्रिय छिन्।
- नागारिक न्यूजबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...