-->
लिंग पहिचान गरी भटाभट ‘छोरी’हत्या
Advertisement

बैशाख २४
२०७१ वैशाखमा अछाम नन्देगडा–१ की ३५ वर्षीया मनकला साउदले स्थानीय औषधि पसलेको सल्लाह बमोजिम औषधि खाएर गर्भपतन गराइन् । तर औषधि खाएपछि उनको योनीबाट निरन्तर रगत बगिरह्यो । परिवारका सदस्यले चार घण्टा टाढाको बयलगडा अस्पताल लगे । उपचारको क्रममा उनको मृत्यु भयो । उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले भने, “पूरा गर्भपतन भइसकेको थिएन, रक्तस्रावका कारण हेमोग्लोविनको मात्रा न्यून थियो । बचाउन सकिएन ।”
२०७० भदौ महीनामा कञ्चनपुर झलारी पिपलाडी नगरपालिका–५ बस्ने २६ वर्षीया राजमती भट्ट गर्भपतन गराउन झलारी बजारमा रहेको कामना क्लिनिक गइन् । भारतीय नागरिक जगपालको सल्लाह बमोजिम क्लिनिकबाट औषधि किनेर खाइन् । औषधि खाएपछि रगत बग्न थाल्यो । दुई दिनपछि उनको मृत्यु भयो । त्यसयता जगपाल फरार छन् ।
२०७२ जेठमा बाजुराको जगन्नाथ गाविस–८ बस्ने ३५ वर्षीया जमुना रोकायाले स्थानीय मेडिकल पसलबाट औषधि खाएर गर्भपतन गराइन् । रगत बग्न नरोकिएपछि उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज ‘रेफर’ गरियो । केन्द्रका चिकित्सक डा. कुलराज शाहीका भनाइमा, “हेमोग्लोविनको मात्रा ज्यादै न्यून थियो, रगतको आवश्यकता भएकाले अन्यत्र ‘रेफर’ गर्नुप¥यो ।”
२०७२ असारमा कोटिला गाविस–१ की खत्री थरकी एक महिलाले गाउँको मेडिकलकै औषधि खाएर गर्भपतन गराइन् । तर, गर्भ आधा पेटमै रहेकाले थप उपचार गर्न कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिन् । यहाँ सम्भव नभएपछि उनलाई नेपालगञ्ज ‘रेफर’ गरियो । केन्द्रकी स्टाफ नर्स हेमु श्रेष्ठका भनाइमा, “उनको हालत यति बिग्रिसकेको थियो कि त्यहाँ उपचार हुन सम्भव थिएन ।” तर जगन्नाथ–२ की २५ वर्षीया मनसरी नाथको उपचार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै गरियो । स्टाफ नर्स श्रेष्ठका भनाइमा, “तीन दिनको उपचारपछि उनी घर फर्किएकी थिइन् ।” बाजुराको उत्तरी क्षेत्रमा एक दिनको पैदल दूरीमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगिन्छ । त्यहाँ महीनामा तीन÷चार जना महिला गाउँमा असुरक्षित गर्भपतन गराएर अप्ठ्यारो भएपछि थप उपचारका लागि आउने गर्छन् । श्रेष्ठका भनाइमा, “उपचारमा आउने धेरै महिला रक्तअल्पता, रक्तस्राव, आधा गर्भ पेटमै रहेको जस्तोे समस्या लिएर आउने गर्छन् ।”
छिमेकी अछाम जिल्लाको अवस्था पनि उस्तै छ । बयलगडा अस्पतालमा महीनामा ३० जनाभन्दा बढी यस्ता महिला आउँछन् । अस्पतालका अनुसार “गर्भपतन गराएर अप्ठ्यारोमा परेपछि उनीहरू अस्पताल आउने गर्छन् ।” अस्पतालमा अछाम, बाजुरा र डोटीतिरका महिला धेरै आउने गरेका छन् । शहर–बजार आसपासका भन्दा पनि दुर्गम गाउँका महिला धेरै यस्तो समस्या लिएर आउने गर्छन् । “अप्ठ्यारो भएर आउनेमध्ये धेरैलाई रगतको जरूरत पर्छ”, एक कर्मचारीले भने ।
दुर्गम पहाडी जिल्लामा मात्र नभई सुदूरपश्चिमका तराईका जिल्लामा पनि गर्भपतन गराउने काम जथाभावी भइरहेको छ । कैलालीको धनगढी नगरपालिका–१ बस्ने ३० वर्षीया गीता श्रीवास्तवले स्थानीय मेडिकल पसलेले दिएको औषधि खाएर गर्भपतन गराइन् । तर जब उनलाई धेरै रक्तस्राव भयो त्यसपछि उपचारका लागि १८ साउन २०७२ मा सेती अञ्चल अस्पताल भर्ना गरियो । रगतमा हेमोग्लोविनको मात्र कम भएकाले उनलाई रगत दिएपछि सञ्चो भएको अस्पतालकी नर्सिङ निरीक्षक सुनिता खत्रीले बताइन् । त्यसै दिन धनगढी नगरपालिका–२ बस्ने २१ वर्षीया भुल थर भएकी महिला पनि अस्पताल भर्ना भइन् । उनको समस्या पनि उही थियो– औषधि पसलबाट किनेको औषधि खाई गर्भपतन गराएपछि रगत नरोकिएको । उनलाई पनि रगत दिएपछि सञ्चो भएको अस्पतालले जनाएको छ ।
सेती अञ्चल अस्पतालमा पहाडी जिल्लाबाट यस्ता समस्या धेरै आउने अस्पतालका प्रमुख डा. गणेशबहादुर सिंह बताउँछन् । अस्पतालबाट प्राप्त जानकारी अनुसार, २ जेठ २०७२ मा डडेल्धुरा आलिताल गाविस–३ बस्ने २६ वर्षीया गौरी बोहोरा गाउँमा असुरक्षित गर्भपतन गराएर अप्ठ्यारो भएपछि सेती अञ्चल अस्पतालमा भर्ना भइन् । एक हप्ता उपचार पछि सञ्चो भएर घर फर्किन् । त्यस्तै २१ जेठमा डोटी घायल–७ बस्ने २६ वर्षीय बुढा थर भएकी एक महिला आधा गर्भ पेटमै रहेको अवस्थामा अस्पताल आइपुगिन् । १२ साउनमा कञ्चनपुरको बेल्डाँडी–५ बस्ने ३६ वर्षीय पण्डित थर भएकी महिला पनि यस्तै समस्या लिएर सेती अञ्चल अस्पताल पुगिन् । केही समयको उपचारपछि उनीहरू घर फर्किएका थिए ।
३० असारमा कैलालीको विकट गाविस साढेपानी ६ बस्ने ३२ वर्षीया सागरानी चौधरी पनि अस्पताल भर्ना भइन् । उनको पनि समस्या उही थियो– गाउँको पसलमा किनेको औषधि खाएर गर्भपतन गराउनु । उनलाई रगत दिएपछि सञ्चो भएको थियो । ५ साउनमा कैलाली सहजपुरकी २४ वर्षीया तारादेवी साउद रक्तअल्पता र रक्तस्राव भएपछि अस्पताल भर्ना भइन् । गाउँमा गर्भपतन गरेपछि उनी समस्यामा परेकी थिइन् । नर्स सुनिता खत्रीका भनाइमा, “चार पोका रगत दिएपछि उनलाई सञ्चो भएको थियो ।” सेती अञ्चल अस्पतालमा मात्रै महीनामा ३० जनाभन्दा बढी जथाभावी गर्भपतन गराएर अप्ठ्यारो अवस्थामा पुगेका महिला आउने गर्छन् । अञ्चल अस्पताल प्रमुख डा. सिंहका भनाइमा “गएको चैत महीनादेखि १६ साउनसम्म यस्तो समस्या बोकेर ९० जना महिला अस्पताल आएका थिए ।” डा. सिंह भन्छन्, “यो अवस्था देशभरि छ, तर यहाँ समस्या गम्भीर छ भन्ने देखिसक्यो ।”
महाकाली अञ्चल अस्पतालमा २०७२ असारदेखि पुस महीनासम्म ५९ जना महिला गर्भपतनका कारण समस्यामा परेर थप उपचार गर्न आएका थिए । महाकाली अञ्चल अस्पतालको विवरण हेर्दा महीनामा २० देखि ३० जना महिला यस्तो समस्या परेर उपचार गर्न आउने गर्छन् । महाकाली अञ्चल अस्पतालका प्रमुख डा. श्रीराम तिवारीका भनाइमा, “यसले समाजमा असुरक्षित गर्भपतन भयावह अवस्थामा छ भन्ने देखाउँछ ।” क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको विवरणले डा. तिवारीको अनुमानलाई पुष्टि गर्छ । निर्देशनालयका शाखा अधिकृत बन्दना भट्टका भनाइमा, “२०७१÷७२ मा मात्रै ६४२ जना महिला यस्तो समस्या लिएर विभिन्न अस्पताल पुगेको देखिन्छ ।” (हे.बक्स)
बच्चा धेरै, चेतनाको अभाव, परिवार नियोजनका साधन प्रयोग नगर्ने लगायतका कारणले यस्तो समस्या आउने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ अहेब टेकबहादुर खड्का बताउँछन् । खड्का भन्छन्, “बच्चा बढी भएपछि गर्भपतन गराउन खोज्छन्, परिवार नियोजनका साधन प्रयोगमा कुनै मतलब गर्दैनन् । अनि समस्या पर्छ ।”
अझ हिजोको भोगाइका आधारमा अहिले भइरहेको गर्भपतनको तरीकालाई तुलनात्मक रूपमा वैज्ञानिक र सुरक्षित मान्नुपर्छ । केही वर्ष अघिसम्म सुदूरपश्चिमको पहाडी जिल्लामा योनीमा जडीबुटी अथवा काठ राखेर पनि गर्भपतन गराउने गरिन्थ्यो । बाजुरा कुल्देवमाण्डौकी देवु खाती भन्छिन्, “पहिला त काठ अथवा जडीबुटी राखेर गर्भपतन गराइन्थ्यो । अहिले सजिलो छ, गाउँमै औषधि पसल छन्, त्यहीं औषधि पाइन्छ ।”
जथाभावी गरिने गर्भपतनले महिलाको स्वास्थ्यमा कस्तो असर पर्छ ? जिल्ला स्वास्थ्य कार्यालय बाजुराकी स्टाफ नर्स रूपा बिक भन्छिन्, “सेतो पानी बग्ने, रक्तअल्पता हुने, बाँझोपन, तल्लो पेट दुख्ने, रगतको कमी हुने गर्छ ।” रूपा थन्छिन्, “त्यसमाथि पोषणको अवस्था पनि कमजोर हुने हुँदा यस्ता महिलाको पाठेघर खस्ने, क्यान्सर हुने अथवा रगत गएर मृत्यु समेत हुन सक्छ ।”
गैरकानूनी धन्दा
कैलाली नजिकै भारतको पलियामा रहेको सक्सेना अस्पताल ः बाहिर पहिचान गर्नु पाप भने पनि भित्र भ्रुण पहिचान गर्ने काम हुन्छ । प्रकाश सिंह
असुरक्षित गर्भपतनले समस्यामा परेकी एक महिला सेती अञ्चल अस्पताल धनगढीमा उपचार गराउँदै । प्रकाश सिंह
नाम (अनिवार्य)
इमेल (अनिवार्य) (प्रकाशित नहुने)
प्रतिक्रिया
पठाउनुहोस्
खोजी
लिंग पहिचान गरी भटाभट ‘छोरी’हत्या
स्वास्थ्यका लागि बिसाउन जरुरी, भ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.