-->
बोलेका कुरा गरेरै देखाउँछु : ओली
Advertisement

बैशाख २४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास–निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताएका छन्। व्यवस्थापिका संसदको बैठकमा दुई दिनसम्म सांसदले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले दीर्घकालीन हित हुने उद्देश्यसहित विकास योजनाको काम अघि बढाएको जानकारी दिए।
संसद बैठकमा १ घन्टा ५० मिनेट बोलेका उनले काम गर्छु भन्दा विरोध गरिएको भन्दै आक्रोश पोखे। 'मैले आर्थिक विकास र समृद्धिका कुरा गरिरहेको छु, त्यस्तो सुन्दा तपाईंहरूलाई छट्पटी होला, होस् तर म गरेरै देखाउँछु,' सांसदको प्रश्नको जवाफ दिँदै उनले भने। सरकार गठन भएको समयसीमा र गरेका कार्यलाई नजरअन्दाज गरेर आलोचना गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
'यहाँ त काम गर्छु भन्दा पनि मुख थुनेर नबोल् भन्न थाले, तपाईंहरू छट्पटाउनुहोस्, केही छैन, म काम गरेर देखाउँछु,' उनले भने। सरकारले काम गर्छु भन्दा काम गर्न नदिनेहरू सल्बलाएको उनको टिप्पणी छ।
'एक वर्षभित्र तुइनमुक्त देश बनाउँछु, तराईका जिल्लामा रेल कुदाउँछु, काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेल लैजान्छु,' ओलीले भने, 'एक वर्षभित्र आधारभूतरूपमा लोडसेडिङमुक्त गर्छु, दुई वर्षमा निर्यात गर्नेसम्म काम गर्छु भनेको छु, गर्छु।'
दीर्घकालीन हित हुने उद्देश्यसहित विकास योजना सुरु गरेको जनाउँदै प्रधानमन्त्री ओलीले भावावेशमा आएर कुनै पनि निर्णय नगरेको दाबी गरे। रेल निर्माण र जलविद्युत आयोजनाका लागि सर्वेक्षणलगायत काम तीव्रतासाथ भइरहेको जनाए। 'मान्छेहरू बोल्यो कि झलमल बत्ती बाल्नुपर्छ भन्ने सोच राख्छन्, यसै बल्छ बत्ती? त्यसलाई समय लाग्दैन?' ओलीको प्रश्न छ।
संविधानसभाबाट ९० प्रतिशतभन्दा बढी सदस्यले पारित गरेको संविधान पुनर्लेखन हुन नसक्ने उनले प्रस्ट पारेका छन्। 'सुन्छु, संविधान पुनर्लेखन हुनुपर्छ तर ९० प्रतिशत बहुमतले पारित गरेको संविधान संशोधन हुनसक्छ, पुनर्लेखन हुँदैन।'
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहमति नगरी चुनावसम्म जान चाहेको आरोप उनले बताए। 'इस्युलाई थाँती राखेर उनीहरु जान चाहन्छन्, समस्या सल्टाउन चाहँदैनन्,' ओलीले भने, 'समस्या समाधान गरौं, आउनुहोस् म तयार छु।' संवाद तथा छलफल र संसदभन्दा बाहिर गएर सहमति गर्न नसक्ने अडान उनले दोहोर्यालए। मधेसी मोर्चालाई जिम्मेवारीपूर्वक वार्तामा आउन पनि ओलीले पुनः आह्वान गरेका छन्।
२२ बँुदे र ८ बुँदे माग पूरा गर भनेर दबाब दिएको तर आफूले नयाँ आधारमा नयाँ सहमति गर्न आग्रह गरिरहेको उनले जनाए। 'तैंले नधमिल्याएको भए पनि तेरो बाउले धमिल्याएको हो भनेर मलाई दबाब दिन्छन्,' ओलीले भने।
विपक्षीलगायत केही पक्षले मधेसी मोर्चाको मुद्दालाई लिएर राजनीति गरेको उनले जनाएका छन्। 'संविधान जारी गर्ने दलले नै मधेसका मुद्दालाई लिएर एमालेलाई आरोप लगाउने गरेका छन्, यसमा कुनै तुक छैन,' ओलीले भने, 'यो विरोधका लागि विरोध मात्रै हो, एउटाको विरुद्ध अर्कोलाई उचाल्ने काम मात्रै हो।' मोर्चाका मागलाई समर्थन गरेको देखाउने तर प्रतिबद्धता भने जनाउन नसक्ने दोहोरो व्यवहार गरिरहेको उनले आरोप लगाए।
नेपालको संविधान निर्माणमा छिमेकी देशले अनावश्यक चासो राख्दा समस्या देखिएको तर त्यो क्रमशः हल हुँदै गएको ओलीले बताए।
'म प्रधानमन्त्री भएर आउँदा ५ जनाजति नाकामा बसे पनि ग्यास–तेल रोकिने अवस्था थियो, अहिले त्यो पूरै हटेर सहज भएको छ,' उनले भने, 'भारतको राजकीय भ्रमण र चीनको भ्रमणबाट धेरै उपलब्धि भएका छन्, त्यता नजरअन्दाज गरिएको छ।' भारतसँग विशाखपट्टनम बन्दरागाह सम्झौता र चीनसँग पारवहान सम्झौता गरेर आफू गौरान्वित भएको उनले बताए।
'चीनसँग पारवहन सम्झौता गर्दा एकका विरुद्ध अर्कोलाई प्रयोग गरियो भनेर आलोचना गर्ने काम भयो, त्यस्तालाई म कठैबरी भन्छु,' ओलीले भने, '२१ औं शताब्दीको अन्तर्राष्ट्रिय सम्बन्ध अर्कै भइसकेको छ, एउटा स्वतन्त्र राष्ट्रले जोसँग पनि, जे पनि सम्झौता गर्नुपर्छ, अरु कसैलाई सोधिरहनु पर्दैन।'
भूकम्पपछि पुनर्निर्माणको काम तीव्रता साथ अगाडि बढाएको उनले बताए। 'मैले असोज २५ गते सपथ लिएँ, प्राधिकरणको सिइयो को भन्ने विवाद लामो समयसम्म रह्यो, पुस १० गते प्राधिकरण विधेयक पास भएर माघ २ गतेबाट पुनर्निर्माणको काम सुरु गरेको छु,' ओलीले संसदमा भने, 'सोही अनुसार १६ सय इन्जिनियर भूकम्प प्रभावित क्षेत्रमा गएका छन्।'
भूकम्पपीडितको रकममा अनियमितता गर्नेलाई कडा कारबाही गर्ने र जेठभित्रमा पीडितलाई छानोमुनि ल्याइसक्ने प्रतिबद्धता ओलीले जनाएका छन्।
नयाँ संविधानअनुसार नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, न्यायपरिषद सदस्य नियुक्ति, संवैधानिक परिषद गठन, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, २१ देशमा राजदूत नियुक्ति प्रक्रिया सुरु गरेको उनले जनाएका छन्।
ओलीले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन संशोधन गर्ने, नयाँ कानुन बनाउने काम तीव्रतासाथ भइरहेको जानकारी दिए। 'नयाँ संविधानअनुसार बाझिएका कानुन संशोधन गर्ने, नयाँ कानुन बनाउनेलगायत काम भइरहेका छन्, कतिपय मन्त्रिपरिषदबाट पास भएर तयारी अवस्थामा छन्,' उनले भने, 'संविधानसँग बाझिएका १ सय ९३ कानुनका शब्दाबली सच्याइसकिएको छ, अरु अब संसदमा आउँछन्।'
नागारिक न्यूजबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.