-->
क्यान्सरपीडित पत्रकारको अनुरोध– तपाईंहरूको सहयोग पाए श्रीमती र छोराको बिल्लिबाँठ हुने छैन
Advertisement

जैट ९
मेरो घर नेपाल–भारत सिमानामा रहेको भौवानाका दाङमा पर्छ । सम्पत्तिको नाममा मसँग केही छैन । हाम्रो परिवार ऐलानी जग्गामा बस्दै आएको छ । परिवारको जेठो छोरा हुँ । मेरो ६ महिनाको छोरो छ ।
२६ वर्षको म अहिले क्यान्सरले थलिएर भक्तपुर जिल्ला अस्पतालमा उपचार गराइरहेको छु । १२ वटा किमोथेरापी र ३५ वटा सेकाइ गर्नुपर्ने अस्पतालले बताएको छ । दाङको जिल्ला जनस्वास्थ्य कार्यालय, पत्रकार महासंघ दाङ र केही पत्रकार साथीको सहयोगमा आजसम्मको उपचार सम्भव भएको हो । मजस्तो गरिब परिवारको मान्छेलाई नै यस्तो रोग लागेपछि कसरी उपचार गर्ने चिन्ता लागिरहेको छ ।
भौवानाकामा न त मेरो देशको भाषा बोल्ने रेडियो सुन्न पाइन्थ्यो न त कुनै पत्रिका नै पढ्न पाइन्थ्यो । विडम्बना, यो अवस्था अहिलेसम्म जस्ताको तस्तै छ । दुई छाक जुटाउन हम्मे–हम्मे पर्ने मेरो गाउँवासीले टाउको दुख्यो भने छिमेकी जिल्लामा गएर सिटामोल किनेर खानुपर्छ ।
यस्तो ठाउँमा एउटा दलित परिवारमा जन्मिएको मलाई मेरा बुवाआमाले एसएलसीसम्म पढाउनुभएको थियो । तर, मैले उहाँहरूको सपनाभन्दा फरक पत्रकार बन्ने सपना देखेँ । बिनावर्दीका सीमारक्षकजस्ता मेरा गाउँलेले भोगेका दुःख, कष्ट र संघर्षका कथा म लेख्न चाहन्थेँ । हामीले ‘नाका आवाज’ नामको दुईमहिने पत्रिका प्रकाशन तयारी गरिरहेका थियौँ । घोराही दाङको गणतन्त्र एफएममा कार्यक्रम प्रस्तोताका रूपमा मैले केही समय काम पनि गरेको थिएँ । केही गीतमा आवाज पनि दिइसकेको छु ।
भरतपुर क्यान्सर अस्पताल चितवनले सुरुमै एक हप्तासम्म बाँचेपछि मात्र उपचार गर्न आउनू भनेर फिर्ता पठाइदिएको थियो । तर, मलाई बाँच्नुरहेछ । म १४ दिनपछि बाँचेर अस्पतालमा पुग्दा डाक्टर अचम्ममा परेका थिए । त्यसपछि मात्र मेरो सानो आन्द्राको अप्रेसन गरिएको थियो । हिजोआज लाग्छ– मैले मृत्यु जितिसकेको छु ।
एकातिरको बिमारी अर्कातिरको औषधि गर्दा मैले निकै दुःख पाएँ । पहिले अल्सर भएको हो कि भन्ने लागेर त्यहीखालको औषधि गराएँ । औषधि जति खाए पनि निको भएन । मलाई क्यान्सर लागिसकेको रहेछ । पायल्स र अल्सरको औषधि खाँदा क्यान्सर तेस्रो चरणमा पुगेपछि मात्र मैले थाहा पाएको हुँ ।
जिल्ला र गाउँका मेडिकलमा तीनपटक भिडियो एक्स–रे गर्दा पनि मलाई के रोग लागेको हो थाहा हुन सकेन । तेस्रोपटकको एक्स–रेमा सानो आन्द्रामा सुजन भएको र औषधि खाएपछि निको हुन्छ भनेर मेडिकलका डाक्टरले भनेका थिए । तर, मैले जति औषधि खाँदा पनि मलाई रोग निको हुनुको साटो झन्झन् बढ्दै गएको थियो ।
भक्तपुरमा पहिलो चरणको केमोथेरापी सुरु भएको छ । त्यो पहिलो चरणको उपचार सकिएपछि दोस्रो चरणको उपचार सुरु हुनेछ । उपचारका लागि २० लाखजति लाग्ने अस्पतालले बताएको छ तर मेरो घरको आर्थिक अवस्था एकदमै कमजोर छ । एउटा भाइले मलेसियामा बसेर कमाएको जति सबै मेरो आन्द्राको अप्रेसन गर्नेबेला नै सकियो ।
अब तपाईं सहयोगदाताको मात्र आस छ । तपाईंले गरेको सानो सहयोगले मैले नयाँ जीवन पाउनेछु । मेरो ६ महिनाको छोरा टुहुरो हुनुपर्ने छैन । मेरी श्रीमती खाउँखाउँ र लाउँलाउँकै उमेरमा विधवा हुनुपर्ने छैन । तपाईंको सानो सहयोगले निको हुनेछु भन्ने आशा छ । थोरै भए पनि सहयोग गर्दिनुस् । मेरो बाँकी जीवनमा पत्रकार र कलाकार बनेर नाकावासीको हितका लागि काम गर्ने चाहना छ ।रातो पाटीबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.