बैशाख २९
काठमाडौं: चन्द्रागिरि केबलकारको परीक्षण सञ्चालन सम्पन्न भएको छ । अब एक महिनापछि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । काठमाडौं फनपार्क प्रालिले निर्माण गरेको यो केबलकार थानकोट गोदामचौरबाट चन्द्रागिरि डाँडाँसम्म पुग्नेछ । बटम स्टेसनबाट टप स्टेसनको दूरी दुई किलोमिटर छ । केबलकार नौ मिनेटमा गन्तव्यमा पुगिसक्नेछ ।
काठमाडौं फन पार्क प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारको परीक्षण सञ्चालन सम्पन्न भएको जानकारी दिए । ‘अब व्यावसायिक सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको छ,' उनले भने, एक महिनाभित्रै केबलकारको नियमित सञ्चालन गर्ने योजना छ । तर मिति भने यकिन भइसकेको छैन ।' केबलकारले लिने टिकट दर पनि निर्कोल हुन बाँकी छ ।
प्रत्येक दिन ३८ वटा केबलकार सञ्चालनमा आउनेछन् । एउटा केबलकारमा ८ जना चढ्न पाउनेछन् । प्रतिघन्टा एक हजार जना यात्रु केबलकारले ओसार्न सक्ने अध्यक्ष ढकालले जानकारी दिए । केबलकार चलेपछि थानकोट तथा चन्द्रागिरि क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने देखिएको छ ।
केबलकार कुल लागत तीन अर्ब १५ करोड रूपैयाँ रहेको छ । केबलकार सञ्चालनमा आएपछि राजधानीमा थप एक आकर्षक पर्यटकीय गन्तव्य विकास हुनेछ । हाल राजधानीबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य नगरकोट रहेकामा यो केबलकार सञ्चालनमा आएपछि चन्द्रागिरि अर्को सबैभन्दा नजिकको आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्य हुनेछ ।
प्रत्येक दिन ३८ वटा केबलकार सञ्चालनमा आउनेछन् । एउटा केबलकारमा ८ जना चढ्न पाउनेछन् । प्रतिघन्टा केबलकारले एक हजार जना यात्रु ओसार्नेछ ।
चन्द्रागिरिबाट काठमाडौं उपत्यका, मकवानपुर, वीरगन्जसहित सगरमाथाको दृश्यसमेत देख्न सकिन्छ । केबलकारको टम स्टेसनबाट भारत र चीनको कतिपय भूभागसमेत देखिने भएकाले सर्वसाधारणको मन लोभ्याउन सक्ने सञ्चालकले विश्वास गरेका छन्
केबलकारसँगै अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट, मनोरञ्जन पार्क, भ्युटावर र महादेवको मन्दिरसमेत निर्माण गरिएकाले सबैथरीका पर्यटक यहाँ आकर्षित हुने प्रवद्र्धकको विश्वास छ । ‘मुलुककै नमुना परियोजनाका रूपमा केबलकार निर्माण गरिएको छ । अरू पनि यस्ता परियोजना सञ्चालन गर्ने लक्ष्य छ', ढकालले भने ।
सात सय रोपनी क्षेत्रफलमा फैलिएको यो परियोजना चन्द्रागिरि हिल्सअन्तर्गतको चन्द्रागिरि केलबकारका नामबाट ब्रान्डिङ गरिँदैछ । विश्वप्रसिद्ध अस्ट्रियाको डोपल कम्पनीको प्रविधिमा केबलकार निर्माण गरिएको हो । यो कम्पनीले विश्वभरमा अहिलेसम्म १५ हजारभन्दा बढी केबलकार बनाइसकेको छ ।
केबलकारसँगै अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट, मनोरञ्जन पार्क, भ्युटावर र महादेवको मन्दिरसमेत निर्माण गरिएकाले सबैथरीका पर्यटक यहाँ आकर्षित हुने प्रवद्र्धकको भनाइ छ । २५ सय ४० मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडोलाई पूर्णरूपमा पर्यटकीय गन्तव्य बनाउन, भ्युटावर, मनोरञ्जन पार्क, रिसोर्ट, थिएटरलगायतका सुविधा उपलब्ध गराइनेछ ।
वृद्धवृद्धामा भालेश्वर मन्दिरको दर्शन गर्न पाइने भएकाले बढी आकर्षित गर्न सक्छ भने युवायुवतीलाई भ्युटावर, थिएटर अनि बालबालिकालाई मनोरञ्जन पार्कलगायतले तान्नेछ । केबलकारको बटम स्टेसनमा पनि रेस्टुराँ, सपिङ सेन्टरलगायतका सुविधा हुनेछन् । तर यी परियोजना सबै अहिले बनिसकेका छैनन् । विस्तारै निर्माण गर्दै जाने योजना कम्पनीको छ । थानकोटस्थित त्रिभुवन पार्कसँग यसको बटम स्टेसन जोडिएकाले केबलकार चढेर पिकनिकको थप रमाइलो लिने अवसरसमेत मिल्नेछ ।
चन्द्रागिरि डाँडो धार्मिक र ऐतिहासिक हिसाबले समेत निकै महत्त्वपूर्ण रहेको छ । चन्द्रागिरिको सबैभन्दा उच्च भागमा भालेश्वर मन्दिर बनाइएको छ । पृथ्वीनारायण शाहले काठमाडौं खाल्डोमा युद्ध तथा नेपाल एकीकरण कार्य प्रारम्भ गर्नुअघि भालेश्वर महादेवको दर्शन गरी आशीर्वाद लिएको किंबदन्ती छ ।
सतीदेवीको निधार पतन भएको स्थान भएकाले भालेश्वर नामकरण हुन गएको हो । संस्कृतमा भालको अर्थ निधार हुन्छ । कतिपय धार्मिक पुस्तकमा यसलाई इच्छेश्वर महादेव पनि भन्ने गरिएको छ । यहाँ पुगेर महादेवको दर्शन गरी एक चिज माग्दा त्यो पुग्ने जनविश्वास छ ।
सरकारले ४० वर्षका लागि जग्गा लिजमा दिएपछि २० महिनाअघिदेखि केबलकार निर्माणको काम सुरु गरिएको थियो । विदेशी पर्यटकको टुर प्याकेजमा समेत चन्द्रागिरिलाई पारी यसको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचारप्रसार गराउने योजना कम्पनीको छ ।
केबलकार सञ्चालनमा आएपछि स्थानीय बासिन्दाको समेत आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । काठमाडौं फन पार्क प्रालिले निर्माण गरेको केबलकार परियोजनामा ग्लोबल आईएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, नवराज नेपाल र उमा जीसीको लगानी छ ।
अन्नपूर्ण पोस्ट्बाट


0 comments
प्रतिक्रिया दिनुहोस्...