काठमाडौं, जेठ ११ – शनिबार बिहानै सिंहदरबारको मुुख्य ढोकातिरबाट एउटा भर्खरै शोरुमबाट निकालिको गाडी हुइँकिदै आएर भद्रकाली मन्दिर अगाडि टक्क रोकियो । गाडीबाट टिसर्ट र जिन्स पाइन्टमा सजिएका एकजना अधबैँसे पुरुष ओर्लिए ।
र सरासर अघि बढेर मन्दिरको सिँढीमा पलेंटी कसेर बसेका पुरोहितलाई सोधे ‘गुरु, आज गाडी पूजा गर्नु थियो । साईत कस्तो छ ?’ ‘अति उत्तम’, ती पुरुषको प्रश्न भुईंमा खस्न नपाउँदै पुरोहितले जवाफ फर्काए ।
‘लौ न त्यसो भए गईहाल्नु पर्यो गुरुजी’, उनले पुरोहितलाई आग्रह गरे । पुरोहितले पूजा थालीसँगै मन्दिर एक फन्को घुमेर आउन भने । ती अधबैँसेले पुरोहितले दिएको पूजाको थाली बोकेर मन्दिरको फन्को लगाएर रोकिएको गाडी छेउ आए ।
त्यतिबेलासम्म पुरोहित गाडी छेउमा पुगिसकेका थिए । उनले गाडी धनीलाई गाडी पनि घुम्न लगाएर र मन्त्र फलाक्न थाले । गाडी धनीले पुरोहितको इशारा अनुसार पूजाको थाली हातमा लिएर गाडी घुम्ने, टीका र माला लगाईदिने, नरिवल फुटाउने र दक्षिणा चढाई दिने काम गरे । कर्मकाण्डीको भण्डै १० मिनेटपछि पूजा सकियो ।
गाडी धनीले पुरोहितसँगबाट टिका लगाएर पुरोहितलाई पनि टिका लगाई दिए । अनि पर्सबाट निकालेर दक्षिणा पनि टक्र्याए । अन्तिममा नमस्कार गरेर उनी आफ्नो बाटो लागे । पुरोहितले मख्ख पर्दै दक्षिणा गोजीमा हाले र पूजा गर्न आउने अर्को त्यस्तै मान्छेको बाटो हेर्न थाले ।
चिटिक्क परेको कमिज सुरुवाल, इस्टकोट, शीरमा ढाकाको टोपी, गलामा हरेराम हरेकृष्ण लेखिएको पहेँले गम्छा र निधारमा रातो टिका टल्काएर उमानन्द भट्टराईले भद्रकालीमा जजमान ढुकेको सात वर्ष नाघिसक्यो । उहाँले यहिँ यसै गरी बसेर आफू र परिवारको जीवन धानिरहनु भएको छ ।
बिहानैदेखि खटेर कर्मकाण्डीमा लागेर कुनै दिन ५ हजार रुपैयाँसम्म गोजीमा हाल्ने उहाँ सन्तुष्ट लाग्ने कमाई भने नहुने गुनासो गर्नुहुन्छ । ‘भयो भने दिनको ५ हजार पनि हुन्छ’ उहाँले भन्नुभयो ‘धेरै दिन त ५–६ सय रुपैयाँमै चित्त बुझाउनुपर्छ ।’
भद्रकाली मन्दिरमा बसेर कर्मकाण्डीमा लाग्ने उहाँ एक्लो हुनुहुन्न । उहाँको छेउमा अरु पनि ५–६ जना पुरोहितहरु बस्छन् । विदाका दिनमा कुनै कुनै बिहान त गाडी र बाइक पूजा गर्नेहरुले पुरोहितलाई ताना तान नै गर्नुपर्छ । तर सधैं त्यसो हुँदैन सामान्यतया दिनमा ५ वटासम्म गाडी तथा मोटरसाइकलको पूजा आफूले गर्ने गरेको पुरोहित भट्टराईको अनुभव छ । ‘बिहान ७ बजेबाट ११ बजेसम्म मात्रै गाडी बाइक पूजा गर्न आउने हो’ पुरोहित भट्टराईले भन्नुभयो ‘यति बेलासम्म बढीमा ३५ वटा जति पुजा गर्न आउँछन् ।’
आम्दानी भन्दा भक्ति ठूलो
भट्टराईको छेउमा बस्ने कृष्णप्रसाद दाहाल कमाउन भन्दा पनि आफू भगवानको भक्तिमा बसेको दाबी गर्नुहुन्छ । जजमानले जति दिएपनि आफ्नो चित्त बुझ्ने उहाँ बताउनुहुन्छ । ‘धार्मिक आस्थामा भगवानको भक्ति गरिरहेको छु’ उहाँले भन्नुभयो ‘पैसा त त्यस्तै हो । सामान्य नै तरिकाले परिवार चलिरहेको छ ।’
कर्मकाण्ड गर्न पाउँदा सन्तुष्टि भएको छ उहाँलाई । तर मन्दिरमा बसेर घर परिवार चलाउन नसकिने उहाँले बुझिसक्नु भएको छ । औँसी, पूर्णिमा, सक्रान्तिजस्ता विशेष बेलामा विशेष पुजा गर्दा विशेष दक्षिण पनि हात लाग्ने उहाँले सुनाउनुभयो ।
भद्रकालीमा अरु बेला विवाह, ब्रतबन्ध ग्रह शान्ति, स्वस्ती पाठलगायत कर्मकाण्डी हुने भएपनि नयाँ गाडी तथा मोटरसाइकलको पुजा गर्नेको भिड शनिबार त झन् धेरै हुन्छ । ‘बिहान एकछिन त भ्याईनभ्याई हुन्छ । अरु बेला त सुख्खै हो ।’ दोलखा घर भएका पुरोहित दाहालले बताउनुभयो ।
शुक्र अस्तले घटायो आम्दानी
तर हिजोआज भने गाडीको पूजा कम हुने गरेको छ । दाहालका अनुसार यस वर्षको वैशाख १९ गते शुक्र अस्त भउको छ । शुक्र अस्तमा पूजा आराधन तथा शुभकाम गर्न नहुने विश्वास छ । त्यसैले गाडी तथा बाइक किन्नेहरु पनि पूजाकालागि त्यति धेरै आएका छैनन् । असार २४ गतेपछि शुक्र उदय हुने भएकाले त्यसपछि पूजा पाठ गराउनेहरु बढ्ने विश्वास छ भद्रकालीका बसेका पुरोहितहरुलाई । ‘शुक्र अस्तको समयमा पुजा पाठ गर्दा भगवानले नसुन्ने नदेख्ने भएकाले यस अबधिमा पूजापाठ घटेको हो’ उहाँले भन्नुभयो ‘शनिबार भने राम्रै पूजा हुन्छ, त्यसैले त बसिरहेका छौं नि ।’उज्यालोअनलाइनबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...