-->
प्रचण्डले ओलीलाई भने, मलाई तुरुन्त जेल हाल्नुस्, तपाईँले आँट गरेमात्र समस्या समाधान हुन्छ
Advertisement

जेठ १
काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमाले निकटकै मानव अधिकारवादीहरु आफूलाई २ दिन भए पनि जेल हाल्ने मिसनमा लागेको आरोप लगाएका छन्।
पाँच माओवादी घटकले शुक्रबार आयोजना गरेको शान्ति सम्झौता र युद्धकालीन मुद्दा विषयक कार्यक्रममा उनले आफुलाई एमालेको मान्छे भन्ने मानवअधिकारवादीहरु प्रचण्डलाई दुई दिन भए पनि जेल नहाले हाम्रो मिसन पूरा हुँदैन भनेर लागिरहेको आरोप लगाएका हुन्। 'उहाँहरु एमालेकै मानिस भन्नुहुन्छ, ठूला-ठूला मानव अधिकारवादी, उहाँहरुले प्रचण्डलाई दुई दिन भए पनि जेल नहाले हाम्रो मिसन कम्प्लिट हुँदैन भनेर अस्ति भर्खरै भन्नुभएछ।'
यो थाहा पाएपछि आफूलाई तुरुन्तै जेल हाल्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेको उनले बताए। 'मैले प्रधानमन्त्रीलाई भनेँ मलाई तुरुन्तै जेल हाल्नुस्, तपाईंले त्यो आँट गर्नुभयो भने मात्र यो समस्याको समाधान हुन्छ।'
सुन्नुस् अडियो-
सम्बन्धित समाचार
फोटोमा हेर्नुस् एउटै मञ्चमा पाँच दलका माओवादीहरु
देशभरीका अदालतमा गरी ३७ वटा मुद्दा रहेको भन्दै प्रचण्डले आफू लगायत प्रमुख नेताहरु जेल जाने सम्भावना रहेको बताए। 'म लगायत प्रमुख नेताहरु जेल जाने सम्भावना छ, हामी नभए के गर्नुहुन्छ?' राष्ट्रिय सभागृहमा भेला भएका कार्यकर्तालाई सोधे 'मलाई पहिला मुद्दा लगाऊ भनेकै हो, लगाइहाले भने तपाईंहरु के गर्नुहुन्छ?'
प्रचण्डले देशभरीका प्रहरी र अदालतबाट आफुहरुविरुद्ध परेका मुद्दाहरु संकलन गरिरहेको जानकारी दिँदै बाबुरामविरुद्ध १६, रामबहादुर थापा बादलविरुद्ध ४ र मोहन वैद्यविरुद्ध परेको मुद्दा यकिन गर्ने क्रममा रहेको बताए। उनले द्वन्द्वकालीन मुद्दामा आफुसहित मोहन वैद्य,बाबुराम भट्टराई, रामबहादुर थापा लगायतका नेताहरु जेल परेमा विद्रोह गर्न कार्यकर्ताहरुलाई आग्रह गरे।
'यदि राज्यको अंगले हामीलाई साँच्चै अपमानित गर्ने हेप्ने हो भने, म, किरणजी, बाबुरामजी, बादलजी जेल जाने भने तपाईंहरुले विद्रोह गर्नुहुन्छ र त्यो जायज हुन्छ।' उनले प्रमुख नेताहरु जेल बसेर गरेको विद्रोह चानचुने हुँदैन भन्ने कुरा दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाले देखाएको पनि बताए।
नेपालका मानव अधिकारवादीहरुले शान्ति र भाँडभैलो चाहेको प्रचण्डले आरोप लगाए। 'कानुनविद, मानवअधिकारवादीहरु कता दौडिएका हुन्? फेरि लडाइँ भैदिए मजा हुँदो रहेछ कि?' उनले प्रश्न गरे 'नेपालमा शान्ति मेलमिलाप चाहेको हो कि भाँडभैलो चाहेको हो? यिनीहरुलाई चटाचट गिँडेर ठीक लगाउनुपर्यो भनेको हो कि, तपाईंहरुले के खोजेको हो?
मानवअधिकारवादीहरु डलरको भरमा आफूहरुलाई कठघरामा उभ्याउन लागिरहेको भन्दै त्यस्ता मानवअधिकारवादी चिनिराख्न प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गरे। 'डलरको भरमा माओवादीलाई ठेड्कोमा हालिछाड्ने भन्छन् भने तपाईंहरुले चिनिराख्नुस्' उनले कार्यकर्तालाई भने।
को हुन् मानवअधिकारवादी?
प्रचण्डले द्वन्द्वकालीन मुद्दामा हिजो युद्धरत पक्षको मनोविज्ञान मिलेपनि मानवअधिकारवादीहरु त्यसलाई भड्काउन लागि परेको जिकिर गरे। 'सेनाका सबै हाकिम र जवानको मनोविज्ञान र माओवादी सेनाका सबै कमाण्डर र सदस्यहरुको मनोविज्ञान मिल्छ' उनले भने 'त्यतिबेला सरकारमा रहेको नेपाली कांग्रेसको नेता कार्यकर्ताको मनोविज्ञान पनि मिल्छ।'
तर युद्धमा कतै पनि सहभागी नभएको मानव अधिकारवादीहरु भिडन्त हुँदा रमाइलो मान्ने गरेको बताए। 'यी मानव अधिकारवादी लडाइँमा कतै पनि थिएनन्, कानुनविद पनि कहीँ थिएनन्। उनीहरुलाई भिडन्त भइदिइरहे रमाइलो हुन्थ्यो कि के हो?' प्रचण्डले प्रश्न गरे।
शेरबहादुरलाई पनि जेल हाल
प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा नेपाली कांग्रेस सरकारमा रहेको र शेरबहादुर देउवा प्रधानमन्त्री रहेकाले अदालतले उनलाई पनि आफुसँगै जेल हाल्ने आँट गर्न सक्नुपर्ने बताए। 'अहिले गिरिजाप्रसाद कोइराला हुनुहुन्न उहाँको ठाउँमा शेरबहादुर देउवा हुनुहुन्छ। उहाँ जनयुद्धको बेला प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसकारण अदालतले साँच्चै कारबाही गर्ने आँट गर्ने हो भने शेरबहादुर र प्रचण्डलाई पहिला थुन्नुपर्यो। उनीहरुबाट कारबाही सुरु गर्नुपर्यो' उनले भने 'कार्यक्रतालाई, जनतालाई सताउने जुन अभिप्राय देखिएको छ त्यसको अन्त्य हुनुपर्यो।'
सशस्त्र युद्ध युद्धमात्र नभई राजनीतिक क्रान्ति भन्दै उनले यसमा कुनै पक्षको विजय नभई सम्झौतामा टुंगिएको स्मरण गरे। तर अहिले सम्झौतामा स्थापित मान्यता अतिक्रमण गर्न खोजिएको प्रचण्डले बताए। 'शान्ति सम्झौताको मूल स्पिरिट भनेको द्वन्दवकालीन मुद्दाहरु टिआरसी (सत्य निरुपण तथा मेलमिलाप आयोग) ले मेलमिलापको माध्यमबाट टुंगो लगाउने हो' उनले भने 'तर शान्ति सम्झौताको मुल्य र मान्यतालाई जसले अतिक्रमित गर्छ त्यसले शान्ति सम्झौता उलंघन गरेको ठहर्छ। शान्ति भंग गरेको ठहर्छ।'
पार्टी एकता हुने हो भने सरकार छाडिन्छ
कार्यक्रममा अर्का वक्ता क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य पनि सहभागी थिए। उनले माओवादीहरु एकतावद्ध हुन नसकेपनि जनयुद्धका मुद्दामा कार्यगत एकता हुन सक्ने बताएका थिए। तर कार्यक्रममा सहभागी माओवादी कार्यकर्ताहुले हुटिङ गर्दै एकता नै गर्नुपर्ने बताएका थिए। त्यसको जवाफमा किरणले एमाओवादी सरकारबाट बाहिरिए एकता हुन सक्ने बताएका थिए।
किरणको भनाइको जवाफ दिँदै प्रचण्डले साँच्चै एकता हुने भए सरकारबाट आजै बाहिरिने घोषणा गरे। उनले भने 'कमरेड म आजै घोषणा गरिदिन्छु तपाईंहरु मान्नुहुन्छ भने सरकार छोड्नु कुनै आइतबार छैन। अस्ती छोडि पनि सकिएको थियो।'
प्रचण्डले वैद्यलाई माओवादी एकता गर्न जरुरी छ भन्ने लागेमा बाधक नबन्ने बताए। 'यदि किरणजीलाई माओवादी जरुरी छ भने लागेको छ र प्रचण्ड सरकारमा भएरै बाधक हो भने म यही मञ्चबाट घोषणा गरिदिन्छु सरकार छोडिन्छ।'
आपसमा फुटेको फुट्यै गर्ने माओवादीलाई अहिले अदालतले एक ठाउँमा ल्याएको पनि प्रचण्डले बताए। हामी आपसमा फुटेको फुट्यै गर्नेलाई एक पटक घन हानेर एक ठाउँमा ल्याइदिएकोमा त धन्यवाद, तर शान्ति सम्झौताको स्पिरिट त्यही हो?' उनले प्रश्न गरे।
उनले किरणले दुई चार दिन ढिलो गरेपनि माओवादी एकता भएरै छोड्ने दावी गरे। 'अब हामी जुट्दैछौं। दुनियाँको तागतले माओवादी एकता रोक्न सक्दैन। हेर्नुहोला माओवादी जुट्यो जुट्यो। किरणजी दुई चार दिन ढिलो गरी आउनुहोला अब माओवादी जुट्यो।'
प्रचण्डले आफुहरुले उठाएका मुद्दा सुनुवाइ नभएकाले अब माओवादी एकजुट बन्नुपर्ने आवश्यकता देखिएको बताए। 'हामीले सामन्य रुपमा कोठाभित्र भनेका कुराको सुनुवाइ भइरहेको छैन। त्यसकारण एकचोटी जनताको वीचमा जानुपर्ने भो र एक पटक फेरि उठाउनुपर्ने भयो।'
अहिले माओवादी विरुद्ध अदालतको प्रयोग हुन थालेको प्रचण्डले बताए। 'देशभरी माओवादीको घोर अपमान हुन थालेको छ। माओवादी विरुद्ध अदालतको जसरी प्रयोग गर्न थालिएको छ। त्यसैले माओवादी एकता अपरिहार्य आवश्यकता भएको छ।'
'माओवादीलाई फेरि पनि लखेट्ने प्रक्रिया राज्यको कुनै न कुनै अंगबाट लगातार अघि बढिरहेको छ' प्रचण्डले भने 'यसलाई रोक्न माओवादी एकता माओवादी आन्दोलनलाई पुनर्जीवन दिनुको कुनै विकल्प छैन।'
फुटेर टुक्रा टुक्रा भएको माओवादीलाई अदालतको गतिविधिले एक ठाउँमा ल्याएको प्रचण्डले बताए।
९ बुँदे सहमति ठूलो कुरा नभएको प्रचण्डले बताए। यो शान्ति प्रक्रिया सफलतापूर्वक टुंग्याउन दुई दलबीच भएको राजनीतिक प्रतिवद्धताको रुपमा मात्र बुझ्न उनले आग्रह गरे।
(पहिलोपोस्टबाट)


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.