विराटनगर, १३ वैशाख । अन्तर्जातीय विवाह गरी दाम्पत्य जीवन बिताउन सफल भएका पत्रकार गणेश लम्साल र उनकी श्रीमती कमला लम्साल (विश्वकर्मा) सम्मानित भएका छन् । २१ वर्षअघि अन्तर्जातीय प्रेम विवाह गरेका लम्साल दम्पतीलाई नेपाल दलित समाज कल्याण सङ्घ मोरङले आफ्नो आठौँ अधिवेशनको अवसरमा आइतबार यहाँ सम्मान गरेको हो । दलित कल्याण सङ्घका केन्द्रीय अध्यक्ष भक्त विश्वकर्मा र मोरङका प्रजिअ तोयम रायले दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा स्नातकोत्तर अध्यनरत दृष्टिविहीन विद्यार्थी मोरङ सिद्राहाका धीरेन्द्र विश्वकर्मा र कटहरीकी सामाजिक अभियन्ता मालती ऋषिदेवलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा दलित समाज कल्याण सङ्घका केन्द्रीय अध्यक्ष भक्त विश्वकर्माले नयाँ संविधान बनिसक्दा पनि अझै जातीय छुवाछुत हट्न नसकेकाले अब गैरदलित समुदायलाई छुवाछुत अन्तका लागि चेतना दिनुपर्नेमा जोड दिनुभयो ।प्रजिअ तोयम रायले स्रोत साधन नहुँदा स्थानीयस्तरमा सरकारले निर्माण गरेको दलित समिति सक्रिय हुन नसकेको बताउनुभयो ।- ओएस नेपालबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...