-->
राहतको पर्खाइमा बसेका भूकम्प पिडित मानसिक रोगी
Advertisement

गोरखा भूकम्प गएको वर्षदिन पूरा भयो । अझै नेपालीले वैशाख १२ गतेको त्यो विनाशकारी दिन भुल्न सकेका छैनन् । गृह मन्त्रालयका अनुसार गोरखा भूकम्पले नौ हजार ५५ नेपालीको ज्यान गएको थियो । तर बाँचेका जनताले अझै न त भरपर्दो साथ पाए नत वाचा अनुसारको राहत र उपचार नै । कतिले त एउटा पालसम्म नपाएको गुनासो गर्दै छन् ।
काठमाडाँैको चाबहिलमा बस्ने पवित्रा पौडेलले राहतका नाममा अहिलेसम्म केही पाउनुभएको छैन । भूकम्पले आफ्ना आफन्तसँगै कार्यालयमा काम गर्ने १० जनाको निधन भएको पवित्राले भुल्न सक्नुभएको छैन । भुल्ने पनि कसरी भूकम्प आएका समयमा ज्यान बचाउन भाग्दै गर्दा उहाँका दुवै खुट्टा भाँचिएका छन् । जुन अझै निको भएको छैन ।
ज्योतिष काम गर्ने उहाँलाई त्यतिबेलाको भविष्य के होला भन्ने थाहा भएन । सरकारले उपलब्ध गराएको राहत नपाएको उहाँको गुनासो छ ।
यस्तै गुनासो सिन्धुपाल्चोक बाह्रबिसेका नारायण शिवाकोटीको पनि छ । भूकम्पले उहाँकी श्रीमतीलाई मानसिक रोगी बनाइदिएको छ । जुन लामो समय उपचार गर्दासमेत निको हुनसकेको छैन । परिवारको बास टहरामा छ । त्यसमाथि सरकारले राहत स्वरुप दिएको सुरुको १५ हजार रुपैँयासमेत उहाँको हातमा परेन ।
भूकम्पीपीडित परिचयपत्र पनि पाउन नसेका उहाँको गुनासो छ । उहाँले भूकम्पले लडाउन लागेको जोखिमयुक्त घरमा नै सिलाइको काम गर्दै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ– “घर कसरी मर्मत गर्नु, अलिअलि कमाएको पैसा श्रीमती उपचार गर्दा र जहान छोराछोरीको पालनपोषणमा खर्च हुन्छ । अरुले त राहत पाएर चर्किएका घरको अलिअलि मर्मत गरे, मैले एकसुको पाएको छैन । राहत पनि बोल्न सक्ने र पहुँच हुनेका लागि मात्रै रहेछ ।”
यस्ता पीडा भएका पीडित कति छन् भन्ने कुराको एकिन गर्न सकिएको छैन । भूकम्प गएका दिनदेखि थलिनुभएकी गारेखा लामाचौरकी ७६ वर्षीया निर्मला न्यौपाने सरकारको राहत सपना मात्र भएको दुखेसो पोख्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “भूकम्पले म बुढी जस्ता कति बूढाबुढीलाई बिरामी बनाएको छ । सरकारले भूकम्पमा परी बिरामी भएका सबैको उपचार गरिदिन्छ भन्ने सुनेको थिए । तर, मैले केही सुविधा पाइन ।”
काठमाडाँैमा उपाचारका लागि आउनुभएकी उहाँलाई डर लागि रहने, निद्रा नलाग्ने, खानमा रुचि नहुने, कता जाउँ के गरु जस्तो छटपटी हुने समस्याले सताएको छ । भूकम्पमा परी घाइते भएका ठूला चोट लागेका बिरामीको उपचार गर्न नसकिएको आवस्थामा मानसिक रुपमा थलिएकी निर्मलाजस्ता बिरामीको बारेमा कस्ले सोच्ने रु
भूकम्पको त्रासका कारण मानसिक समस्या भएका बिरामी दैनिक दुई, तीनजना आउने गरेको शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ मानसिक तथा मनोरोग विशेषज्ञ प्रा डाक्टर सरोज ओझा बताउनुहुन्छ । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.