“छोरा पाउने भएर होला यसपालि उसलाई साह्रै गाह्रो भएको छ ।
पेटमा छोरा छ भने अति दुःख दिन्छ रे नि !” मेरी दिदीकी साथी गर्भवती भएपछि उनलाई केहिदिनदेखि निकै गाह्रो भएको कुराले मेरी दिदीलाई पिरोलेको थियो । साथीलाई गाह्रो भएको कुरा दिदीले सुनाउँदा पेटमा छोरो भएकाले गाह्रो भएको हो भन्ने सुनेपछि मेरा कान अलि ठाडा भए ।
गर्भवती भएका बेला महिलामा विभिन्न समस्या देखिन्छन् । तर पेटमा छोरा नै भएकाले गाह्रो भएको भन्नेसुनेपछि मैले दिदीलाई सोधे “गर्भमा छोरा नै छ भनेर चाहिँ कसरी ठोकुवा गरेको ? पेटभित्र छोरी पनि त हुनसक्छ नि ।
” दिदीको सहज जवाफ थियो “होइन यसपालि पक्का छोरा हुन्छ भनेर उनैले भनेकी हुन् ।”
पेटभित्रको भ्रुणको लिंग छुट्टाउनु गैरकानुनी हो भन्ने कुरा थाहा भए झै पैसाका लागि यस्तो काम गर्ने डाक्टर पनि सजिलै उपलब्ध छन् भन्ने पनि हामी धेरैलाई थाहा छ । त्यसैले दिदीलाई सोधे–“के छोरा हुन्छ डाक्टरले भनेका हुन् र ?” होइन डाक्टरले त केहि पनि भनेका छैनन् ।
तर यसपालि उनीहरुले छोरा पाउने सुत्र प्रयोग गरेका छन् । त्यसैले पक्का छोरा हुन्छ भन्नेमा उनीहरु ढुक्क छन् । दिदीको यो सहज जवाफ सुनेर म तीनछक परे । छोरा पाउनकै लागि भनेर वर्षेनी सन्तान जन्माएको, भाकल गरेको, भ्रुणको लिंग पहिचान गरि गर्भपतन गराएको कुरा आजकाल जताततै पढ्न पाईन्छ । सुनिन्छ ।
तर छोरो पाउने सुत्र र सुत्र प्रयोग गर्ने बिधिको कुरा मैले पहिलो पटक सुनेकी थिए । मनमा खुल्दुली लाग्यो, आखिर के रै छ त छोरा पाउने सुत्र ? दिदीलाई जोड गरे त्यो सुत्र जसरी नि मलाई नि ल्याइदिनुपर्यो भनेर ।
त्यसपछिका लगातार ३–४ दिनसम्म उनलाई सुत्रका बारेमा सोधिरहे । दिदीले पनि त्यो सुत्र हात पार्न सकिनन् । तर दिदीका अनुसार त्यो सुत्र तालिकामा छोरा पाउन कुन महिना, बार, गतेमा यौन सम्बन्ध राख्ने भन्नेबारे विस्तृतमा उल्लेख छ रे ।
अनि श्रीमान श्रीमतीको उमेरले पनि यसमा भूमिका खेल्छ रे । जसरी हिसाबमा सुत्र प्रयोग गरेपछि समस्याको हल हुन्छ त्यसरी नै छोरा पाउने सुत्र नबिगारी प्रयोग गरे छोरा हुने पक्का हुन्छ रे ।
यी सबै रे का कुरा कसरी पत्याउनु ? आखिर सुत्र आफ्नो हात परेको छैन । तर सुत्रले दिमाग रन्थनाउन छाडेन । आमा, भाउजू अनि साथीहरुबीच कहिलेकाहिँ भएका कुराकानीमा कस्ता लक्षण भए छोरा र छोरी पाइन्छ भन्ने सुनेकी छु ।
गर्भवती महिलाले सपनामा केरा खाएको देखे छोरा हुन्छ, पेटमा छोरा भए गुलियो खान मन हुन्छ अनि छोरी भए अमिलो पिरो जस्ता कुरा धेरै सुनिन्छन् । त्यस्तै, गर्भवती महिला जाँगरिला भएनन् अनि अलि अल्छि गर्छन् भने पक्का छोरी हुन्छ भनेर ठोकुवा पनि गर्छन् । सोच्छु, कुरा यदि साँच्चै हुँदो हो त घरधन्दा पनि सम्हालेका अनि कामकाजी महिला सबैले त छोरा नै पाउनुपर्ने हो !
अनि ग्रामीण भेक जहाँ खेतीपाती, मेलापात अनि घरधन्दाबाट एकछिन पनि फुर्सद नपाउने जाँगरिला महिला सबैले त छोरा नै पाउनुपर्ने हो । तर छोरा नपाएको भनेर यातना खेप्नेमा त उनीहरु नै बढी छन् ।
वैज्ञानिक रुपमै छोरा र छोरी पाउने सुत्र बनेको अहिलेसम्म कहि कतै पुष्टि भएको छैन । तर पनि यस्ता कुरामा मानिसको चासो धेरै छ । दिदीको कुराले मेरो पनि चासो बढायो । छोरा पाउने सुत्रबारे गुगलमा खोजी गरे । ओहो……. कति धेरै नतिजा…।
छोरा पाउने केहि सुत्र आमाबुवाको जन्ममितिका आधारमा तयार गरिएका भेटिए । केहि सुत्रमा वर्ष, महिना, दिन अनि बार मिलाउनुपर्ने भेटियो । कतै महिलाको डिम्ब निष्कासनको पहिलो चरणमा यौनसम्बन्ध राख्नुपर्ने कुरा लेखिएको भेटियो । कुनैमा राशि त कुनैमा खानपिनमा ध्यान दिनुपर्ने कुरा ।
सुत्रहरु जताततै थिए । कुनै सुत्र सित्तै उपलब्ध थिए भने कुनै सुत्रका लागि पैसा तिर्नुपर्ने । तर यी कुनै पनि सुत्र वैज्ञानिक रुपले पुष्टि भएका र सतप्रतिशत नतिजा दिने भनेर कसैले पनि ग्यारेन्टी भने दिएको पाइएन । तर पनि मानिसको चासो यस्ता सामग्रीमा धेरै ! त्यहि भएर होला छोरा पाउने सुत्रबारेका धेरै सामाग्री भेटिएको ।


0 comments
प्रतिक्रिया दिनुहोस्...