-->
डढेल्धुरामा आगलागी, नियन्त्रणमा आउन सकेन
Advertisement

दीपायल। डडेल्धुरामा आज बिहान ७ बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । डडेल्धुराको बागबजारमा बिहान एक्कासि लागेको आगोलाई नियन्त्रणमा लिन प्रहरी, सेना र स्थानीयवासीको सक्रियता भए तापनि नियन्त्रणमा आउन सकेको छैन ।
अमरगढी नगरपालिकाको दमकल बिग्रेका कारण विहान करिब ८ बजेर १० मिनेटमा मात्रै दीपायलबाट दमकल हिँडेको दीपायल सिल्गढी नगरपालिकाका लेखा अधिकृत रमेश जोशीले जानकारी दिनुभयो ।
जोशीले डडेल्धुराबाट खबर नै ढिला आएपछि दमकल पठाउन ढिला भएको बताउनुभयो । बिहान ७ बजे बागबजारको गुड्डी पसलबाट सल्केको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।
एकपछि अर्को पसल जल्ने क्रम भइरहेको डडेल्धुराबाट स्थानीयवासी आकाश उपाध्यायले जानकारी दिनुभएको छ । अहिलेसम्म आगो नियन्त्रणमा नआउँदा ठूलो क्षति भइरहेको छ । बागबजारमा भएका पसललाई खाली गर्ने क्रम जारी रहेको र सिल्गढीबाट हिँडेको दमकल आधीबाटो सम्म मात्र पुगेको र सो नपुग्दासम्म आगो नियन्त्रणमा लिन नसकिने स्थानीयवासी आकास उपाध्यायले राससलाई जानकारी दिनुभयो ।
आगो निभाउने क्रममा नेपाली सेनाका तीनजना जवान पनि घाइते भई उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको छ भने आगो झन्झन् फैलिरहेको बताइएको छ ।
ब्याट्रीबाट आगो लागेपछि गाउँ नै सखाप
रुकुम । आगलागीका कारण रुकुमको एक गाउँ नै सखाप भएको छ । आगोका कारण जिल्लाको आठबिसकोट गाविस–३ दाजको पुरागाउँ नै सखाप भएको हो ।
स्थानीय कालीभान नेपालीको घरमा रहेको सोलारको ब्याट्री पड्किएर सुरु भएको आगो अन्य छिमेकीको घरमा सल्केको थियो । आगोका कारण त्यहाँका नौ घर पूर्णरुपमा क्षति भएको र दुई वटा घर आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट त्यही गाउँमा रहेका चार वटा पसल र एक वटा मेडिकलसमेत पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीका कारण सबैको घरका अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन् । आगोबाट करिब रु एक करोड बराबरको क्षति भएको हुनसक्ने स्थानीयको भनाइ छ ।
स्थानीय धीरेन्द्र बटालाका अनुसार अन्नपात, लत्ताकपडा, भाँडाकुँडाका साथै धनमालसमेत घरमै भएकाले रु एक करोडभन्दा बढी क्षति भएको हो तर क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।
आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको प्रनाउ खड्काले बताए । उनका अनुसार सर्वसाधारण अहिले आगलागी भएको ठाउँ नजिकै त्रिपालमुनि सामूहिक रुपमा बसिरहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले पीडितलाई शुक्रबारमात्र राहत सामग्री पठाउने भएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.